मोरङमा भेटिए नेपालकै सबैभन्दा होचा ब्यक्ति, स्थानीय तहले दिन थाल्यो अपांग भत्ता

  • २१ कार्तिक २०७६, बिहीबार

विराटनगरका २१ वर्षका एक युवा देशकै होचो व्यक्ति भएको दाबी गरिएको छ । 

उचाइ ३१ इन्च मात्र भएका बिराटनगर –१९ का २१ वर्षीय प्रकाशकुमार सरदारको उचाइ ३१ इन्च अर्थात् दुई फुट ७ इन्च मात्र छ ।
झट्ट हेर्दा दूधेबालक जस्तो देखिने प्रकाशकुमार सरदारले जिल्ला प्रशासन कार्यालय मोरङबाट वि.सं २०५४ साल असार २ गते जन्म मिति उल्लेखित नागरिकता पाइसकेका  छन् ।

जिउ सानो भएका प्रकाशको टाउको केही ठूलो छ । सामान्य परिवारका प्रकाशका परिवारले मजदूरी गरेर गुजारा चलाउँछन् ।
विराटनगर महानगरपालिकाले उनलाई पूर्ण अपांगता भएका व्यक्तिलाई प्रदान गरिने रातो कार्ड उपलब्ध गराएको छ ।

महानगरले प्रकाश देशकै होचो व्यक्ति भएको दाबी गर्दै आएको छ । आमा बिमला सरदारले पनि प्रकाश नेपालकै होचो भएको दाबी गरेेकी छिन्  । महानगरले एक वर्षअघिदेखि प्रकाशलाई मासिक तीन हजार रुपैयाँ विशेष भत्ता दिंदै आएको थियो । पूर्ण अपांगताको प्रमाण पत्र पाएपछि उनले मासिक ६ हजार भत्ता पाउनेछन् ।

यस अघि विस २०६८ साल फागुन १४ गते दाङका चन्द्रबहादुर डाँगीले विश्वका होचो व्यक्तिको प्रमाण पत्र पाएका थिए । २१.५ इन्च उचाइ भएका उनको ७३ वर्षको उमेरमा मृत्यु भएको थियो ।