तेस्रो डाँगीहाट गोल्डकपको हिसाब सार्वजनिक, डाँगीहाट रंगशाला प्रदेशकै नमूना बन्ने दाबी

  • २९ कार्तिक २०७६, शुक्रबार

डाँगीहाट फुटबल क्लबले ‘तेस्रो डाँगीहाट गोल्डकप २०७६’ को आयव्यय सार्वजनिक गरेको छ ।

क्लबले बेलबारी १० स्थित सिर्जना पार्कमा रहेको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन गरेर गोल्डकपको हिसाव सार्वजनिक गरेको हो ।
क्लबले गएको कात्तिक ३ गतेदेखि १० गतेसम्म गोल्डकप सञ्चालन गरेको थियो । बेलबारी नगरपालिका, वडा कार्यालयहरु, विभिन्न व्यवसायिक संस्थाहरु, उद्योगी व्यापारी एवम् देशविदेशमा रहेका दाताहरुको सहयोगमा गोल्डकप सफलतापुर्वक सञ्चालन गरिएको डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले बताए  । स्थानिय सरकार, प्रायोजक, दाता, सहयोगी लगायतबाट जम्मा २४ लाख २२ हजार ४४ रुपैयाँ संकलन भएको र गोल्डकप सञ्चालनका क्रममा पुरस्कार, मैदान व्यवस्थापन, अफिसियल, खेलाडी व्यवस्थापन, प्रचारप्रसार लगायतमा गरी जम्मा २३ लाख ३२ हजार ८० रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । गोल्डकपको खर्च कटाएर ८९ हजार ९ सय रुपैयाँ बचत रहेको आयोजकले जानकारी दिएको छ ।

डाँगीहाट रंगशालालाई प्रदेशकै नमूना बनाउने दाबी 
डाँगीहाट फुटबल क्बलका अध्यक्ष छत्र लिम्बुले बेलबारी १० स्थित गोल्डकप सञ्चालन हुने गरेको खेलमैदानलाई प्रदेश १ कै नमुना रंगशाला निर्माणका लागि पहल गरिने बताए । गोल्डकपबाट बचत भएको रकमलाई समेत सदुपयोग गर्दै स्थानिय सरकार प्रदेश सरकार लगायतसँग पहल गरेर डिपिआर तयार गरिने लिम्बुले उनले बताए  । ‘सिर्जना पार्कसँगै रहेको र राजमार्ग नजिक रहेकाले डाँगीहाट रंगशालाको सम्भावाना राम्रो छ’ अध्यक्ष लिम्बुले भने ‘ सकेसम्म यहि मंसिरभित्र डिपिआर तयाार गरेर पुसमा प्रदेश सरकारमा पेश गरी बजेट माग गर्छौ ।’
पत्रकार सम्मेलनमा डाँगीहाट फुटबल क्लबका पदाधिकारीहरु, गोल्डकपको आर्थिक समिति, प्रचार प्रसार समितिका संयोजक सदस्य लगायतको उपस्थिति  थियो ।