एउटा एसएमजी सहित सुनसरीमा भेटिए झण्डै १० हजार थान गोलीगठ्ठा, जनयुद्धकालकै भएको आशंका

  • ६ पुष २०७६, आईतवार

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा कुखुरा पाल्ने खोर मुनि एउटा एसएमजी हतियारसहित ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेका छन्  ।

स्थानीय खेमराज प्रधानको घर नजिकै कुखुराको खोर रहेको जमिनमुनि एक थान एस.एम.जी सहित बिभिन्न हतियारमा प्रयोग हुने ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेको हो ।

नेपाली सेनाको पुर्वी पृतना मुख्यालय इटहरीले बिशेष सुचना पाएपछि सेनाको टोलीले त्यहाँ पुगेको थियो ।  टोलीले एउटा हतियार सहित जमिन मुनीबाट गोली निकालेको हो ।
करिब ५ बर्ष अगाडि ढलाई गरेर निमार्ण गरेको कुखराको खोरमा भेटिएका हतियार र गोली तत्कालिन द्धन्द्धकालमा प्रयोग भएका सामग्री हुनसक्ने अनुमान गरिएको छ ।

सुरक्षाकर्मीले मुचुल्का उठाउंँदै हतियार नियन्त्रणमा लिए पनि  यो कहिले र कस्ले जमिन मुनी राखेको भन्नेबारे अनुसन्धान भइरहेको  सुनसरीका प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले बताए ।

गोली तिन वटा प्लाष्टिकको ड्रममा व्यवस्थित ढंगले जमिन मुनी राखिएको अबस्थामा भेटिएकोले माओवादी जनयुद्ध कालमा लुकाइएको हुनसक्ने अनुमान गरिएको छ । नेपाली सेनाको बिशेष सक्रियतामा जमिन मुनिबाट निकालिएका एक हतियारसहितका गोलीलाई कानुनी प्राबधान अनुसार सुरक्षित राखिने प्रहरीले जनाएको छ । हतियार राखिएको बारे आफुहरुलाइ कुुनै जानकारी नभएको प्रधान परिवारले दाबी गरेको  छ ।