शारीरिक सुगठन प्रतियोगितामा बेलबारीका मनोजले जिते गोल्ड मेडल, ड्रिमल्याण्डले गर्यो सम्मान
- ६ चैत्र २०७६, बिहीबार
बेलबारी -३ मा रहेकाे ड्रिमल्याण्ड फन पार्कले बिहीबार उनलाई सम्मान गरेकाे हाे । बेलबारी ३ का मनाेजले शनिबार धरानमा आयोजित प्रतियोगितामा ६५ केजी तौल समुहमा गोल्डमेडलिष्ट र समग्रमा चौथो भएका थिए ।
सम्मान कार्यक्रममा उनले १५ बर्ष लागुऔषध दुब्र्यसनीका रुपमा परिचित हुँदा र १४ बर्षयता बडिबिल्डिङमा सहभागी भईरहँदा पनि पटक पटक आफु आफनै गाँउमा अपमानित भएको र समाजले समेत राम्रो नजरले नहेरेको बताउँदा कार्यक्रममा सहभागी धेरैका आँखा समेत रसाए । बेलबारीकै कुनै जिमखानाको प्रतिनिधि भएर खेलमा जाने रहर भएपनि त्यो नहुँदा आफु उर्लाबारीको जिमखानाको प्रतिनिधित्व गरेर जानुपरेको तितो यर्थाथ उनले सुनाए ।
स्थानीय सरकारले समेत बडिबिल्डिङमा ध्यान नदिएको भन्दै उनले फुटबल खेल बाहेक अरु खेल र खेलाडीलाई नहेरेको बताए । महिनौसम्म परेजमा बस्नुपर्ने, डाईट धेरै खानुपर्ने भएका कारण आर्थिक अबस्था कमजोर भएकाहरुले रहर भएर पनि बडी बिल्डिङमा सहभागी हुन नसक्ने उनले बताए ।
सामान्य परिवारमा जन्मिएका आफुलाई डाईट किनेर खान समेत धौ–धौ अबस्था रहेको बिगत उनले सम्झाए । एकदमै कमजोर अबस्थामा पनि आमाले पाएको दुःख र आफनो लागी गरेको त्याग समेत उनले सम्झिए ।
लगुऔषध छोडेर बडिबिल्डिङमा सहभागी हुँदा गाँउले र छिमेकीहरुले ‘ऊ लागुऔषध दुब्र्यसनी आयो, हेर त अनुहार चाउरिएको ,कस्तो फटाहा’ लगायत दर्जनौ अपमानित शब्दले सम्बोधन गर्ने गरेको उनले सम्झिरहेका छन् ।
सुवेदी करिब १४ बर्षको मेहनतपछि बल्ल गोल्ड मेडलिष्ट बन्न सफल भएका छन् । तर उनले बिगत भुलेका छैनन् । ‘धेरै गाह्रो थियो, मसँग अण्डा किन्ने पैसा समेत नहुँदा कतिपटक त्यतिकै फर्किएको छु । आमाले यस्ले कंगाल बनाउने भो भनेको कुरा देखि समाजको अपहेलनाले धेरै पटक एक्लै रोएको छु ।’
उनको सम्मानका बेलबारीमा पहिलोपटक बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फनले आयोजना गरेको कार्यक्रममा उनलाई सम्मानपत्र र एक बर्षको सहुलियत कार्य सहित सम्मान गरिएको छ । यो सम्मानले आफुलाई हौसयाएको सुवेदीले बताए ।
ड्रिमल्याण्डका सञ्चालक बिजय सुवेदीले बेलबारीको गहना र देशकै सम्पत्तिका रुपमा रहेका मनोजलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताए । कार्यक्रममा बेलबारी १ मा रहेको सयपत्री मल्टि प्रपोज कम्पनीले समेत मनोजलाई ११ हजार रुपैयाको चेकसहित सम्मान गरेको छ । कम्पनिका तर्फबाट माधबराज थापाले उनलाई चेक हस्तान्तरण गरे ।
कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीले नगरपालिकाले खेलकुद बिधेयक पारित गरिसकेकोले सबै खेल र खेलाडीहरुलाई समेटेर अघि बढने प्रतिबद्धता जनाए । जेबि थुलुङले सञ्चालन गरेको कार्यक्रममा महेन्द्र सुवेदी लगायतले बोलेका थिए । कार्यक्रममा मनोजले बडिबिल्डिङ समेत शो गरेका थिए ।