शुत्रका आधारमा चलेको लकडाउन र सङ्कटमा देखिएका उज्ज्याला सङ्केतहरू
एन.पी.भण्डारी
- २१ चैत्र २०७६, शुक्रबार
यो समयमा हामी सबैजना लकडाउनको जीवन व्यतित गरिरहेका छौँ । तपाईँ घरमै हुनुहुन्छ होला । घरमा भएपनि संसारले यो वेला इतिहासकै सबैभन्दा ठूलो र अनौठो संघर्ष र झेलिरहेको छ भन्ने हामीले बुझेकै छौँ ।
हामी यो सङ्कटबाट उम्कने प्रयासमा छौँ । तर यो सङ्कट कसरी सकिन्छ भन्ने कसैलाई थाहा छैन । आजको दिनसम्मका चित्रहरू सुखद छँदै छैनन् । सबैभन्दा दुखद चित्र र चित्कार युरोपेली मुलुकबाट समाचारमा आङै जिरिङ्ग बनाउने गरी आइरहेका छन् । संसारका सबै देशका सरकारले जनतालाई प्यानीक नहुनु, होसियार रहनु भनेका छन् ।
हाम्रा पनि दैनिकी बदलिए, व्यवहार बदलिए तर केहि प्रश्नहरू मनमा आए । यहाँ यो समयका नयाँ र अनौठो लागेका सवाल उठान गरिएको छ ।
विश्लेषण
सूत्रबाट चल्नुपर्ने बाध्यता
यो समयमा दैनिकी बदलेर हामी सबै मानिस मूलतः विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेका सुत्रबाट चल्दैछौं । सुत्रहरू हुन् “स्टे एट होम टु सेभ लाइफ अर्थात जीवन बचाउन घरै बस्नुहोस् । सोसल डिस्टेन्सिङ कायम गर्नुहोस् अर्थात सामाजिक दुरी बढाउनुहोस् , नजिक नजानुहोस, नजिक नआउनुहोस् अर्थात सामाजिक दुरी बढाउनुहोस्, अत्यावस्यक काम परेमा घरबाहिर जानुपरे माक्स लगाएर अर्थात मुख, नाक र आँखालाई ढाकेर मात्र जानुहोस्, अति आवस्यक काम बाहेक बाहिर जाँदै नजानुहोस् , साबुन पानीले पटकपटक हात धुनुहोस्, सेनिटाइजर प्रयोग गर्नुहोस् । ह्याछ्यु गर्दा कुहिनाले छोप्नुहोस, ज्वोरो आएर सुख्खा खोकी लागे तुरुन्तै स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस , हात धेरै पटक धुनुहोस्, हात साबुन पानीले २० सेकेण्डसम्म मिचिमिचि धुनुहोस् ”। विकसित अविकसित सबै देशका मानिसका स्वास्थ्य सुरक्षाका लागि यी साझा सुत्रहरू हुन् । गरिव र धनी सबैका लागि सुत्र एउटै हुन् ।
परम्परा विपरितका दैनिकीहरू
यसवेला हाम्रा दैनिकीहरू बिलकुलै नयाँ तरिकाले चल्न थालेका छन् । हाम्रा आनीबानीमा नसोचेका परिवर्तन देखिँदैनन् । दिनहरू सपना झैँ चलिरहेका छन् । यो बेलाको घरको बसाइ आम हडतालको जस्तो लाग्छ तर यो आमहड्ताल होइन, जेल परिएको त होइन जस्तो लाग्छ तर त्यो पनि होइन्, कफ्र्यु जस्तो लाग्छ तर त्यो पनि होइन ।
घरबसाइको कारण अचम्मको छ । अचम्म लाग्नुपर्ने कारण हाम्रो दैनिकीहरूको उल्टो बहावट हो । हामी यो समयमा जे जस्ता गतिविधि गर्र्दै छौँ ती सबै सपनाको स्वरुपका छन् जुन विपना भन्दा फरक छन् । गर्दै गरेको व्यावहार सपना त होइन ? भनेर सपनाबाट व्युझँदाको जस्तो गर्नुपरेको छ । मानिस आफैँ घरभित्र लुक्नुपर्ने दिन आउँछ भन्ने सोचेकै थिएन । अरुलाई चकित पार्ने सुन्दर अनुहारमा हलगोरु जोत्न लैजाँदा लगाईने महला जस्तो मास्क लगाएर हिड्दै छौँ । त्यसैले यी अपत्यारिला र चकित पार्ने विपनाका सपनाहरू हुन ।
मैँले मेरो आजको समय सम्झनुपर्ने भएको छ । म कुन दिन, कुन बार र कति बजेको समयमा छु भनेर निकै बेर लगाएर सम्झनुपर्ने भएको छ । घुम्न निस्केका गोडालाई बुझाउनु परेको छ कि तिमी हिड्दा कोरोना सर्छ, जोखिम छ कतै नजाऊ भनेर । शारीरिक अभ्यासहरू पनि परम्परा विपरित गर्नु पर्दैछ । मर्निङ वाक बाटो हिँडेर हुन्थ्यो अहिले घरकै सिँढी चढ्ने र ओर्लने हुँदैछ । सधैँ व्यस्त रहने म अहिले फुर्सदिलो भएको जस्तोे छु । विदा मनाएको जस्तो भइरहेको छ तर होइन किनकी म विदा मनाउने समयमा बाआमालाई भेट्न जाने गर्थेँ या त घुमफिर गर्न ।
म दुबै गरिरहेको छैन । अरुबेला दुई चार दिन भेट्न नजाँदा चित्त दुखाउने बा आमालाई यसपालि म यतिका दिन भेट्न नजाँदा दुख लागेको छैन । छोरी र श्रीमतीले पनि घुम्न रहर गरेका छैनन् । छोरीलाई काखमा राख्न डराएको छु, छोरी र श्रीमतीलाई पनि मलाई धेरै नजिकबाट माया नगर भनेको छु र मेरो सल्लाह उनीहरूलाई मञ्जुर छ । आफ्ना आफन्त र पाहुनालाई नआउन सूचना गरेको छु । बुझेरै होला घरमा पाहुना पनि नआउने भन्ने सुनेको छु । चेलीबेटी भान्जाभान्जी कोहि नआएको एकहप्ता नाघिसक्यो ।
म र मेरा परिवारका सदस्य मावल, ससुराली जान नसक्ने निर्णयमा पुगेँका छौँ । उताबाट पनि घुमाउरो पाराले नआउनु भन्ने खबर पठाएका छन् तर मैँले कुनै दुख मानेको छैन । साथीभाइले फेसबुकको पर्दामा म पनि आउँदिन तपाईँ पनि मलाई भेट्न नआउनुहोला भनेर पत्र लेखेका छन् । कुरा बुझ्न थालेको छु, त्यसैले उनीहरूसँग कुनै गुनासो छैन ।
खाडीमा पैसा कमाउन गएकाहरूलाई सरकारले अहिले नै नआउनु भन्दा पनि हतार हतार आएका छन् । बिचरा घर आएका हुन । उनीहरू आफ्नै देश प्रवेश गर्ने ठाउमा रोकिएको छ । भागेर, नदीमा हाम फालेर र लुुकेर आउनु परेको दिन कस्तो अनौठो भइरहेको छ । गाउँमा पनि गेट लागेको छ । टिकट भइसकेको थियो होला, घर आए । घर गाँउ आएकालाई पनि आमा बा कै खुसीमा सेल्फ क्वारेन्टीनमा राखिएको छ । रोजगारीबाट भर्खर आएको भाइलाई मैँले भेट गर्न नआउनु , आइहालेपनि छेउमा आएर अभिवादन नगर्नु , आइहाले पनि अङ्कमाल नगर्नु, ३ फीट टाढै बस्नु भनेको छु ।
म थप विपरित काम हिजोको भन्दा उल्टो विधिबाट गरिरहेको छु । अल्कोहल नछुनुु भन्ने सल्लाह दिइएको तर अहिले साठी प्रतिशत अल्कोहलको मात्रा भएको सानिटाइजरले हात धुनु भनिरहेको छु । मेरा बुढा बा आमालाई समेत अल्कोहलिक सानिटाइजरले हात धुन लगाउनु परेको छ । मेरा अनन्य सहकर्मी यहि लकडाउनको समयमा वित्नु भयो, अन्तिम पटक अनुहार हेर्ने मनलाई मिचेर लकडाउनको निमय पालना गर्दै घरमा नै बसेँ न त दाहसंस्कारमा उपस्थित हुन नै गएँ । ३० जना मानिसको उपस्थितिमा मात्र उहाँको दाहासस्कार भयो भन्ने नमिठो खवर आयो । उहाँको आत्माले पनि कुरा बुझेको हुनुपर्छ किनकी म लकडाउनमा छु । हामी यति धेरै बिपरितका कुरा सजिलै स्वीकार गर्न थालेका छौँ ।
विदेशका खवर उस्तै छन् । इटालीको एउटा भिडियोमा पत्रकारले महामारीबाट मृत मानिसका बाकसहरूको लस्कर देखाउँदै यी मानिसका आफन्त अस्पताल आएनन, मरेपछि पनि कोही आफन्त छैनन् र दाहसंस्कारमा पनि आफन्तहरू सामेल हुने छैनन् भन्दै गर्दा हेर्न सकिन र भिडिओ बन्द गरिदिएँ । यता मेरै देशको खबर सुन्दै छु आइसोलेसनमा बसेका विरामीको परिक्षण हुन सकेन । डाक्टर पिपिइ नभएर छेउ परनन्, रोगको पहिचान हुुनु अघि नै मृत्यु भयो । अनि लास बुझ्न श्रीमती बाहेक कोहि आएनन् । अझै लास उठ्न सकेको छैन । आर्यघाटमा पनि समस्या आइसक्यो । यो समाचारले त झनै मन अमिलो बनाएको छ । ज्वोरो आएका विरामी आउँदा डाक्टरले हेर्न मानेका छैनन् भन्ने सुन्दैछु । म झस्कन्छु र लाग्छ मेरो हालतपनि उहि होला ।
अनुत्तरित प्रश्नहरु
जटिल पक्ष त के छ भने यदि यस्ता नयाँ अभ्यासले निरन्तरता पाए भने हाम्रो समाज कस्तो होला ? यो परिवर्तन क्षणिक हो या लामै समयसम्म चल्छ ? यस्ता अभ्यास निरन्तर चलिरहने त होइनन् ? कतै यस्तै विपरित काममा अभ्यस्त बनिने त होइन ? हामी विस्तारै लकडाउनका लागि पुरै अभ्यस्त हुँदै छौँ की ? आज भइरहेको कतै प्राकृतिक रूपमा अर्थपूर्ण पो छ की ? गर्ड पार्टिकल हुनेकुरा त वैज्ञानिकहरूले भनेकै हो । हाम्रा अगाडिका दिन कति आशलाग्दा छन् र कति निराशाले भरिएका छन् ? अबको विश्व कस्तो हुन्छ होला ? यी केवल प्रश्नका रूपमा छन् ।
आएका उत्तरमा केहि उज्ज्याला पक्षहरूलाई अर्को खण्डमा आज र भोलीको स्वस्थ्य व्यवस्थाको विकासको सुखद चित्र र आजकै दिन हाम्रा विद्यालय देखि विश्वविद्यालय तह सम्मका शिक्षाका उद्देश्यहरूमा केन्द्रित भई हाम्रा शैक्षिक योग्यतका परिक्षणलाई आजको सङ्कटको मध्य समयबाट क्षितिजमा देखिएका सुखद चित्रसम्मलाई प्रस्तुत गरिएको छ ।
सङ्कटको समयमा देखिएका उज्ज्याला सङ्केतहरू
आजका दिनमा लकडाउन र कोरोना दुइ शब्दहरू एकदमै भाइरल भएर चलेका छन् । कोरोनासँगको लडाइमा देश लकडाउनमा छ भनियो भने दुवै शव्दबाट एकै वाक्य बन्छ ।
सन्दर्भ उही हो, प्रसङ्ग पनि उही । यो समयमा खबरहरु सुखद छँदै छैनन । यो सङ्ठित लडाइको परीक्षणकालिन मैदानबाट क्षितिजमा केहि परिवर्तनका उज्ज्यालो देखिन्छ । यस्ता उज्ज्याला पक्षहरू राजनीतिक तथा स्वास्थ्य विकास र शिक्षासँगै जोडिएका छन । यस खण्डमा उज्ज्यालो उन्मुख राजनीतिक परिक्षणकाल, हाम्रो स्वास्थ्य विकासको दिशा र शैक्षिक योग्यता गुणस्तर परीक्षणलाई विश्लेषण गर्ने प्रयास गरिएको छ ।
राजनीतिक मुद्धाहरूको एकिकरण र विकास
विश्व महामारीका दुखद घट्नाहरूका बाबजुद विकासको प्रवाहको दिशा र क्षेत्रगत विकास हुनेवाला नै छ । दुखद घट्नाका बाबजुद परिवर्तन र उज्ज्यालोका सङ्केतहरू आइरहेको हुनुपर्छ । विकासको प्रवाहको दिशा र क्षेत्रमा प्रगति हुनेवाला नै देखिन्छ । सबैको ध्यान स्वास्थ्य तर्फ छ, मानव बाँच्ने कुरातर्फ छ । देशमा राजनीतिक तानातानका कुरा कम सुन्दैछौँ । एकजना साथीले राजनीतिको मिठास लिन हालेको फेसबुकको पोष्ट १० मिनेट भित्र हटाएका छन् । राजनीतिक स्तर उकास्ने कार्यमा यो महामारीको भूमिका रामै देखिन्छ । सञ्चार माध्यमले साथ दिएन भनेको सरकारले अहिले रामै साथ पाएको देखिन्छ । यो राजनीतिक एकता ल्याउन सहयोगी बनेको छ । त्यतिमात्र होइन यसपछिका राजनीतिक मुद्दा स्वास्थ्य केन्द्रित हुनेछन् । पार्टीका चुनावी घोषणापत्रमा जनस्वास्थ्यको मुद्दा प्रमुख हुनेछ । यसरी राजनीतिक मुद्दा एकीकृत हुने सम्भावना बढ्दै गएको छ । यो घटनाले देशभित्र राजनीतिक मुद्दालाई एकिक्रित गराउनमा सहयोगी बनेको छ भने राजनीति स्वास्थ्य विषय शिक्षा थपिएको हुनुपर्छ । विश्वराजनीतिमा पनि परिवर्तन हुने सङ्केत देखिँदैछन् । विकासको सिमा नाघेर अव विकास भन्दा पर के गर्ने भनेर सोचिरहेका, अव हामी प्रकृतिको बन्धनमा छैनौ, भौतिक स्वतन्त्रताको उच्च उपयोग गछौँ, प्रजातन्त्रले दिएको स्वतन्त्रतामा कसैले रोक्नु हुँदैन भन्दै गरेका युरोप र अमेरिकाका मानिसमा पनि लकडाउनको प्रतिवन्ध लागेको छ । त्यसैले आगामी राजनीति र विकासको प्रवृत्ति पनि फरक हुने महसुस गरिँदै छ । तर पनि हामी सबै सङ्कटमा छौँ त्यसैले परिक्षणकालमा छौँ ।
स्वास्थ्य सेवा विकास
हाम्रो अवस्था हेर्दा यो महामारीको चपेटाबाट उम्कन कठिन त छ नै तर महामारीको यो युद्धमा बिजय प्राप्त गर्न सकेको अवस्थामा हाम्रो शिक्षा र स्वास्थ्य प्रणाली अब्बल प्रमाणित हुने उज्ज्यालो दृष्य अगाडि छ । यसले नेपालको शैक्षिक तथा स्वास्थ्य स्तर अरुले आँकलन गरेको जस्तो कमजोर नभएको प्रमाणित गर्नेछ र हामी विश्वको मापदण्डमा अगाडि उभिएका हुनेछौँ । भौतिक रुपमा नै यो युद्धपछि अहिलेका क्वारेन्टाइन स्थल र आइसोलेसनका कक्षहरू मेडिकल अभ्यासको दिशामा अवस्य जानेछन् र नेपालमा स्वास्थ्य प्रणालीको विकास तिब्र गतिमा हुनेछ । बाध्यतामै परेर भए पनि सरकारले अन्यत्रको बजेट कटौति गरी जनस्वास्थ्य प्रवद्र्धन तर्फ ल्याउने प्रयास गरिरहेको छ । सरकारलाई कोरोनाले सिकाएको यो जबरजस्त पाठ हो । यसपछि बन्ने सरकारले अब स्वास्थ्य सेवा लगानीमा कटौति गर्न सक्ने छैनन् । बाध्यताकै ढोकाबाट भएपनि जनस्वास्थ्य विकासमा अव नेपाल र नेपालजस्ता मुलुकको कदम बढ्ने सम्भावना नै देखिन्छ । कमसेकम पनि नेपालमा हिजो र आजको भन्दा भोली निकै सुधार अवस्य हुनेछ ।
स्वास्थ्य चेतना विकास
चेतना र अभ्यासको नजरबाट हेर्दा पिडाकै बीचबाट पनि जनमानसमा चेतना निकै अभिबृद्धि भइसकेको छ । आफू सचेत हुँदै अरुलाई पनि सचेत गराउनु प¥यो भनेर मैँले मेरा एकजना आफन्तलाई फोन गर्दा उहाँले मलाई नै सचेत गराएको देखेर म चकित परेँ । यो चेतनामा आएको परिवर्तनको स्तरलाई कमजोर मान्न मिल्दैन । गाउँघरमा कम्तीमा पनि मानिसले राम्ररी पटक पटक साबुन पानीले हात धुन थालेका छन्, सानीटाइजरको जोहो र प्रयोग गर्न सिकीसकेका छन् । सेनीटाइजरको नाम नै मैँले भरखरै सुनेको र मैँले पनि भर्खरमात्र प्रयोग गर्न सुरु गरेको छु । मानिसले यसको खोजी र प्रयोग गर्न थालिसकेका छन् । यो व्यावहारिक परिवर्तन ठूलो कुरा हो र जनस्वास्थ्य स्तरकोे विकास हो । हामी खानपीनमा पनि निकै विचार पु¥याउन थालेका छौँ ।
डाक्टरका अन्तर्वार्ता कमै हेरिन्थे र सुनिन्थे । अहिले सामाजिक सञ्जालमा डाक्टरका अन्तर्वार्ता नै भाइरल भएका छन् । बालबच्चाहरूमा समेत यसको प्रभाव परेको छ । सबैभन्दा महत्वपूर्ण कुरा के छ भने एकैपटक तीन पुस्ताले स्वास्थ्य शिक्षा पाएका छन् त्यो पनि व्यावहारिक । यसरी हेर्दा नेपाल र नेपालजस्ता स्वास्थ्य प्रणाली कमजोर मानिएका, स्वास्थ्य चेतना र अभ्यासको कमी भएको भनिएका देशको स्तर बृद्धि भइरहेको छ । अहिले बृद्धि भएको चेतना स्तरका लागि कति खर्च आवश्यक पर्ने थियो होला ? तर त्यो प्राप्त भएको छ ।
यसअघि सुस्त गतिमा हुने सरकारको लगानीको परिणामलाई अहिलेको स्वास्थ्य चेतनासँग तुलना गर्दा हतास हुनुपर्ने देखिदैन तर सङ्कटको लडाइ भने जित्नुपर्ने छ । यस अर्थमा यो सङ्कट पनि अवसर समेत बनेको छ । बरु सरकारको प्रमुख दायित्व नै जनस्वास्थ्य भएको वेलामा सरकारले कहिँ कञ्जुस्याईँ नगरे हुन्थ्यो जस्तो लाग्छ । सरकारलाई मेरो सल्लाह छ की तपाईँका प्रमुख सल्लाहकार यो बेला डाक्टर हुनुप¥यो । डाक्टरको सल्लाह बमोजिम हुबहु गर्नु प¥यो । जनाताले ज्वोरो आउँदा डाक्टरले नहेर्ने अवस्था हुनभएन । स्वास्थ्य सेवाका लागि स्वास्थ्य विशेषज्ञको सुझाव सहर्ष स्वीकार्न सक्नुभयो भने तपाईँको भविस्य पनि उज्ज्वल छ ।
सरकारले वोल्ड कदम चाल्ने हो भने पैसाको कमी हुने छैन । बरु देशको समग्र स्वास्थ्य विकासको अर्को चक्रमा लैजान सकिने सुखद चित्र अगाडि छ । सामथ्र्यका हिसावले कमजोर भएपनि हामी नेपाली कमजोर छैनौँ । हामीमा एकताको बल पनि छ । सरकारलाई प्रतिपक्षले पनि साथ दिएकै छ, सकेजती रुपैँया कवोलेको पनि छ । सबै मानिस सरकारका सही कामलाई सहयोग गर्न तयार भएका छन् । यो पनि बहुत ठूलो कुरा हो । आवस्यक परे सबै नेपाली गाँस काट्न पनि तयार देखिन्छन् ।
शिक्षाको राष्ट्रिय उद्देश्य नै परिवर्तन
सरकारले अहिले केवल एक मात्र सहयोगको याचना गरिरहेको छ त्यो हो “घरमै बसिदिनु प¥यो ” । यो नै महामारीसँगको युद्ध जित्ने एकमात्र र उत्तम हतियार हो भन्ने कुरा सारा संसारले भनेको भन्यै छ । सबै एकै उद्देश्यमा केन्द्रित भएको बेला हो भन्ने सबैले बुझ्न जरुरी भयो । त्यसैले यो समयमा नेपालको शिक्षाको राष्ट्रिय उद्देश्य परिवर्तन भएको छ । त्यो हो “ जनतालाई घरमै बस्ने बनाउनु घरबाट बाहिर निस्कन नखोज्ने बनाउनु अर्थात लकडाउनको पालना गर्न सक्ने बनाउनु” हो । कक्षागत उद्देश्य पनि त्यहि हो, तहगत उद्देश्य पनि त्यहि हो । विद्यालय शिक्षाको उद्देश्य र विश्वविद्यालय शिक्षाको उद्देश्य पनि त्यहि हो । लोकसेवा आयोग र शिक्षक सेवा आयोगको परीक्षाका प्रश्नको उत्तर घरै बसेको प्रमाणित गर्नु हो ।
हामीले यसअघि लिएका जुनसुकै तह र स्तरका शैक्षिक प्रमाणपत्रहरू भएपनि नविकरणको परीक्षामा सहभागी हुनैपर्छ । नविकरणको परीक्षाको प्रश्न उहि हो र उत्तर पनि घरै बसेको प्रमाणित गर्नु नै हो । पी.एच.डी. को प्रश्नको उत्तर उही हो र नर्सरीको बालकले दिने प्रश्नको उत्तर उही हो ।
हामी सबै नेपालीले लकडाउनको आदेशलाई उच्च पालना गर्दै महामारीमाथि बिजय हासिल भयो भने नेपालीलाई विश्वविद्यालयले दिने सर्टिफिकेट स्वस्थ्यताको हुनेछ र साथमा सबैथोक । सुनिदैछ की इटालीमा सरकारले र विश्व स्वास्थ्य सङ्गठनले जनतालाई घरै बस्नु भनेको थियो तर उक्त आदेशलाई जनताले पालना गरेनन् वा अवज्ञा गरे । यो अवज्ञाले उनीहरूलाई महाविपत्ति तर्फ धकेलेको छ । कहाँ र कुन अवस्थामा पूर्ण विराम लाग्ने हो उनीहरूलाई थाहा छैन । यदि त्यहि कुरा सही हो भने सरकारको आदेश र विश्व स्वास्थ्य सङ्ठनको सूचना अवज्ञा गर्ने त्यहाँका मानिसको शैक्षिक प्रमाणपत्र गुणस्तरीय नभएको मान्नुपर्छ ।
विकसित भनिएको शिक्षा प्रणालीले र अब्बल भनिएका विश्वविद्यालयले मानिसलाई अनुशासनको पाठ राम्रोसँग सिकाएको देखिएन । त्यहाँ मानिस न साक्षर देखिए न शिक्षित । इटालियन, स्पेनिस र अमेरिकीले दिएको र लिएको शिक्षाको गुणस्तर हाम्रो सङ्काको घेरामा परेको छ भने हामीले पनि यो समयमा हाम्रो शैक्षिक प्रमाणपत्रहरूलाई र शिक्षाको गुणस्तरलाई परीक्षणको तराजुमा राखेका छौँ ।
अन्त्यमा, सङ्कटको यो समयमा महाविश्वविद्यालयले तपाईँ हाम्रो परीक्षा लिइरहेको छ । हाम्रा विश्वविद्यालयहरू पनि उहि परीक्षामा सामेल छन् । प्रश्नपत्र हातमा छ भनेर मानौँ । निरिक्षक आफैँ हो भन्ने ठानौँ । तपाईँ हाम्रो घर नै परीक्षा हल हो । बाहिर निस्कनु भयो भने, ३ फिटको अन्तरमा बस्नु भएन भने, साबुन पानीले हात मिचिमिचि पटकपटक हात धुनु भएन भने तपाईँको परीक्षा रद्द भएर बर्षौसम्म त के फेरी कहिल्यै परीक्षा दिन नपाउने गरी निकालिनु हुनेछ । सम्भावना त यति धेरै छ कि तपाईँको प्रश्नपत्र बाहिरिँदा सबैको परीक्षा रद्द हुन्छ । सबैको असफलता हुन्छ ।
यति ठूलो जोखिम उठाउन तपाईँ अवस्य बाहिर जानुहुने छैन भन्ने विश्वासमा सरकार छ । लकडाउनको पालना गरेर तपाईँ जहाँ हुनुहुन्छ त्यहिँ बसेर सरकारलाई सघाउनु पर्छ । आफू बच्दै अरुलाई पनि बचाउनु पर्छ । यो परीक्षामा तपाईँ हामी सबै सफल हुनैँपर्छ । यो बाध्यता हो । यदि घरमा बसेर सरकारलाई सघाउने र महामारी भगाउने युद्धमा सफलता हात पार्न सकियो भने एकपटक युरोपेली र अमेरिकी स्वास्थ्य र शिक्षाको स्तरलाई हामीले उछिनेका हुने छौँ । हाम्रा हातमा दुई सफलताको सर्टिफिकेट हुनेछन् पहिलो तपार्ईँ स्वस्थ हुनुहुन्छ र दोस्रो तपाईँ शिक्षित हुनुहुन्छ ।
सरकारको अनुरोधको अनुसरण गर्ने नैतिक अनुशासनकै बलमा नेपालले दाबी प्रस्तुत गर्नुछ कि नेपाली स्वस्थ छौँ, हामी शिक्षित पनि छौँ । विकास सूचकाङ्कको स्तर त्यसैले बढाउने छ । हामीले हाम्रो शिक्षा कमजोर छ भनेर नाक खुम्च्याउनु पर्ने छैन । यो सुखद चित्र हाम्रो सामुमा छ । यो परीक्षामा हामी सबै सामेल छौँ । त्यसैले बिनम्र अनुरोध छ यो बेलामा सबैजना घरै बसौँ, आफू बचौँ अरुलाई पनि बचाउन सकौँ ।