कोभिड १९ संक्रमितहरुलाई भिडियो कल मार्फत परामर्श सेवा दिँदै इटहरी अस्पताल

  • २५ श्रावण २०७७, आईतवार

इटहरी अस्पतालले होम आइसोलेसनमा रहेका कोभिड १९ संक्रमितहरुलाई भिडियो कल मार्फत परामर्श सेवा  दिन थालेको छ ।

अस्पतालहरुमा वेड अभाव भएपछि इटहरी क्षेत्रमा घरमै होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई भिडियो कल मार्फत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा मनिषकुमार शर्माले वताए । होम आईलेशनमा रहेका संक्रमितको अवस्था वुझेर स्वास्थ्य परामर्श सेवा दिइरहेको डा. शर्माले वताए  । होम आइसोलेसनमा वस्दा अपनाउनुपर्ने सावधानी र ध्यान दिनुपर्ने कुराहरु वताइसकिएको छ ।

इटहरीमा अहिले ६ जना होम आइसोलेसनमा छन् । संक्रमण पुष्टि भइसकेपछि पनि कुनै लक्षण नदेखिएकाहरुलाई इटहरीमा आवश्यक मापदण्ड पूरा गरेर घरमै वस्न मिल्ने ब्यवस्था गरिएको छ ।

होम आइसोलेशनमा रहेका लक्षणरहित संक्रमितलाई भिडियो मार्फत परामर्श दिने र लक्षण देखा परे वा स्वास्थ्य समस्या जटिल भए कोभिड अस्पतालमा रेफर गरिने इटहरी अस्पतालका इमरजेन्सी प्रमुख रामकुमार धमलाले वताए ।

संक्रमितहरुलाई मोवाइल न. ९८५२०७३२४८ वाट्स अप वा भाइवर कल मार्फत समेत परामर्श दिइने इमरजेन्सी प्रमुख धमलाले वताए ।

हालसम्म इटहरी क्षेत्रमा कोभिड १९ संक्रमितको संख्या २८ जना पुगेको छ । ती मध्ये १४ निको भएर घर फर्किएका छन । आठ जनाको आइसोलेसन अस्पतालहरुमा उपचार भइरहेको छ ।