दोस्रो पुस्तकालय सम्मेलन हुँदै, ९ सय २८ मध्ये २ सय २७ पुस्तकालय मात्रै संचालनमा

  • १३ असार २०७९, सोमबार

देशभरका ६ सय ८१ पुस्तकालय बन्द भएको पाइएको छ । वि.स. १९७४ देखि हालसम्म खुलेका ९ सय २८ पुस्तकालय मध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको संख्या घटेर जम्मा २ सय २७ मात्रै पुगेको हो । केही भने जेनतेन चलिरहेका छन्  ।

       रिड नेपाल र शान्ति भोलुन्टियर एसोसिएसनको सहकार्यमा शिक्षा मन्त्रालयले गरेको सर्भेले यस्तो देखाएको छ । सर्भेको विस्तृत रिपोर्ट आगामी असार १५ र १६ गते हुने सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा सार्वजनिक गरिने शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले जानकारी दिए । उनले देशभरका पुस्तकालयहरुलाई ६० बढी प्रश्नहरु सोधेर सर्भे गरिएको जानकारी दिए ।

      दोस्रो राष्ट्रिय सम्मेलन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपसचिव निरौलालले हाल नेपालमा पूर्ण सरकारी अनुदानमा चलेका सार्वजनिक पुस्तकालयहरु नगन्य रहेपनि सरकारले ७ सय ५३ वटै स्थानीय तहमा सार्वजनिक पुस्तकालय खोल्ने तयारी गरिरहेको जानकारी दिए । निरौलाका अनुसार सरकारले ९८ पुस्तकालयलाई १ देखि १० लाख अनुदान दिएको छ ।

     यस्तै पत्रकार सम्मेलनमा बोल्दै रिड नेपालका भोलाकुमार श्रेष्ठले नेपालमा स्थायी स्रोत बिनै लहैलहैमा पुस्तकालय खोलिनाले धेरै पुस्तकालयहरु लामो समय सञ्चालन हुन नसकेको बताए । रिड नेपालले हाल नेपालका ४३ जिल्लाका ६९ ठाउँमा पुस्तकालयहरु सञ्चालन गरेको साथै, ती सबै दिगो विकासका कार्यक्रमसँग जोडिएकाले निर्वाध सञ्चालन भइरहेका श्रेष्ठले स्पष्ट पारे ।

     ‘रिड नेपालले सञ्चालन गरेका पुस्तकालय समुदाय र दिगो विकास सँग जोडियो ।’ श्रेष्ठले भने, ‘हामीले दिगो विकासका लागि हरेकलाई १० लाख बिउ पूँजी दियौं’ । समुदायमा आधारित भएर सञ्चालन गर्दा पुस्तकालयलाई निरन्तरता दिन सहज हुने गरेको उनले अनुभव सुनाए । रिड नेपालका पुस्तकालयले बालक, युवा र वृद्ध सबैलाई जोड्ने काम गरेको श्रेष्ठको भनाइ थियो ।

यस्तै, शान्ति भोलुन्टियर एसोसिएसनका विनोद गुरुङले सरकारले सार्वजनिक पुस्तकालयको संख्या बढाउनुपर्नेमा जोड दिए । पुस्तकालय सर्वसाधरण जनताको विश्वविद्यालय भएको भन्दै हरेक स्थानीय तहमा पुस्तकालय खोलिनुपर्ने उनको भनाइ थियो ।

     रिड नेपालका चिज कुमार श्रेष्ठले सरकारले अनुदानले चलेका पुस्तकालयहरु दिगो विकासका योजना र समुदायको स्वामित्व नहुँदा भटाभट बन्द भइरहेपनि रिड नेपालले ३१ वर्ष अघि देखि शुरु गरेका पुस्तकालयहरु अझैसम्म मज्जाले सञ्चालन भइरहेका बताए ।