प्रकाशित भइ नसक्दै चर्चित हुँदै ‘बेलबारीको साहित्यिक इतिहास’

  • १० कार्तिक २०७९, बिहीबार

लेखक, साहित्यकार तथा पत्रकार केशु विरहीको पछिल्लो अनुसन्धानात्मक कृति ‘बेलबारीको साहित्यिक इतिहास’ प्रकाशित भइ नसक्दै चर्चित बन्ने संकेत देखिएको छ ।

प्रकाशोन्मुख अवस्थामै रहेको यो कृतिलाई विरहीले कार्तिक ८ गते अग्रिम भुक्तानी (प्रि–बुकिङ) विधिबाट विक्रीका लागि आव्हान गरेका थिए । यस्तो सूचना पोष्ट गरेको २४ घण्टामै  डेढ  सयभन्दा भन्दा बढी प्रति पुस्तक बुकिङ भइ पूर्वमा नयाँ इतिहास रच्न सफल भएको लेखक बिरहीले बताए ।

बुधवार दिउँसो बेलबारी –३ स्थित ड्रिमल्याण्ड फनमा पत्रकारसँगको भेटघाट कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा एक सय पचासभन्दा बढी प्रति बुकिङ भइसकेको र त्यो क्रम जारी रहेको बिरहीले बताए । पुस्तक प्रकाशन नहुँदै पाठकले देखाएको रुचिले आफूलाई हौस्याएको विरहीले प्रतिक्रिया दिए ।
विरही लामो समयदेखि बेलबारीमै बसेर साहित्य साधना गरिरहेका छन् ।  बिरहीले लामो समयदेखि बेलबारीलाइ नै आधारभूमि बनाएर साहित्य साधना गरिरहेका र आधादर्जन भन्दा बढी कृति प्रकाशित गरिसकेका छन् । कुनै पनि राजनीतक पार्टीमा नरही स्वतन्त्र रूपमा रहेर पत्रकारिता र साहित्यकारितालाई निरन्तरता दिँदै आएका बिरही बेलबारीका कुनै साहित्यिक संघ संस्थाका समितिहरुमा अटाउन सकेका छैनन् ।

राजनीतिबाट अभिप्रेरित हुने संघ संस्थाहरुले साहित्यिक कार्यक्रमहरुमा आफुलाइ लेखक तथा स्रष्टा नभनी पत्रकार मात्र भनेर सम्बोधन गर्ने गरेको बिरहीको गुनासो छ ।
बेलबारीको भाषा, कला–साहित्य, गीतसङ्गीत, अनुसन्धानको विकासमा योगदान दिने भन्दै नगरपालिकाले गठन गरेको ‘बेलबारी–प्रज्ञा प्रतिष्ठान’ दलीय भागबण्डाका आधारमा गठन भएको बिरोधमा बिरहीले चर्को बिरोध गरेका थिए ।  प्रज्ञा–प्रतिष्ठानजस्तो नगरकै गरिमा बोक्ने संस्थाको गठन दलीय भागबण्डाको आधारमा नभई ऐन नियम, योग्यता, क्षमता तथा योगदानका आधारमा हुनुपर्ने उनको अडान छ ।

बेलबारीको साहित्यिक संस्थाहरू साहित्यिकभन्दा पनि अमुक पार्टीका जनवर्गीय सङ्गठन जस्ता देखिएका र केही सिमित व्यक्तिले साहित्यलाई आफ्नो उद्देश्य प्राप्तिको माध्यम बनाएको उनको ठहर छ ।

विगत तीन दशकदेखि कथा, उपन्यास, गजल, बालकथा, तथा समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका विरहीका यस अघि नै ‘कहालीलाग्दा गोरेटाहरू’ (उपन्यास –सहलेखन) २०५५, ‘आमाको माया’ (उपन्यास) २०५६, ‘सुस्केरा (सामूहिक सङ्कलन) २०६२, ‘दन्किएको आगो (गजलसङ्ग्रह) २०६३, ‘भास्कर वंशावली (वंशावली) २०६५, ‘सुलोचना (कथासङ्ग्रह) २०७१ जस्ता आधा दर्जनभन्दा बढी साहित्यिक कृति बजारमा आइसकेका छन् । यो उनको आठौँ कृतिको रूपमा बाहिर आउन लागेको हो ।

आठराई, तेह्रथुम मूल थलो भए पनि लामो समयदेखि बेलबारीलाई कर्मथलो बनाएर पत्रिकारिता तथा साहित्यकारिता गरिरहेका विरहीले साहित्यका माध्यमबाट बेलबारीलाई चिनाउने अभिप्रायले लामो समय लगाएर गरेको कामले सार्थकता पाएको बताउँछन् ।

साहित्यलाई माया गरौँ, कृति मागेर होइन किनेर पढौँ’ भन्ने उद्देश्यका साथ आफूले यो अभियानको सुरुवात गरेको उनी बताउँछन् । कृति प्रकाशन गरेर उपहारमै सिद्धाउनु पर्ने बाध्यता रहेको बेलामा सुरु गरिएको यो अभियानले लेखकलाई उचित सम्मान गर्ने र अनुसन्धानात्मक कामले प्राथमिकता पाउने स्रष्टा ‘आचार्य अ.’ को बुझाइ छ ।

मङ्सिरमा बजारमा आउने यस कृतिमा बेलबारीको २०१३/१४ सालदेखि हालसम्मको साहित्यिक इतिहास, विधा साहित्यकोको इतिहास, कृति प्रकाशन गर्ने तथा लामो समयदेखि साहित्य साधनामा लागेर पनि कृति प्रकाशन गर्न नसक्ने लेखक तथा स्रष्टाको परिचय र बेलबारीमा गठन भएका साहित्यिक सङ्घ संस्था तथा सञ्चार मिडियाको समेत परिचय समेटिएको बताइएको छ ।