अछाममा केएमसीको तीन शिविरबाट नौं हजार विरामीले पाए निःशुल्क उपचार
- १७ फाल्गुन २०७९, बुधबार
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अछाम जिल्लाका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट नौं हजार भन्दा बढी विरामी लाभान्वित भएका छन् । पञ्चदेवल विनायक नगरपालिका, मंगलसेन नगरपालिका र कमलवजार नगरपालिकामा पाँच दिन सञ्चालन गरिएको शिविरमा ९ हजार १ सय ७८ विरामीले निःशुल्क उपचार पाएका हुन् ।
पञ्चदेवल विनायक नगरपालिकासँग सहकार्य गरेर विनायकमा सञ्चालन गरिएको दुई दिने शिविरमा ३ हजार ७ सय ६२ विरामीको निःशुल्क उपचार गरिएको छ । मंगलसेन नगरपालिकासँग सहकार्य गरेर अछाम बहुमुखी क्याम्पसमा गरिएको एक दिने शिविरमा २ हजार १ सय ३१ विरामीले निःशुल्क उपचार सेवा पाएका छन् । पालिकासँग सहकार्य गरेर कमलवजार नगरपालिकामा गरिएको दुई दिने शिविरमा ३ हजार २ सय ८५ विरामी लाभान्वित भएका छन् । तीन शिविरमा १ हजार ७ सय २ जनाको भिडियो एक्सरे, १ हजार ३ सय ६९ विरामीको रक्त परीक्षण, ७ सय ६८ विरामीको इसीजी र ५ सय ३७ विरामीको इको गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
त्यहाँ उपचार सम्भव नभएका ४०६ जना विरामीलाई थप उपचारका लागि केएमसी बोलाइएको छ । शिविरबाट रिफर भएका सबै विरामीलाई केएमसीका सञ्चालक डा.सुनिल शर्माले अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । उनीहरुलाई अस्पतालसम्म जान स्थानीय पालिकाले सहयोग गर्ने भएका छन् । शिविरमा केएमसीका १८ जना बिशेषज्ञ डाक्टरहरुको टोली गएको थियो । काठमाडौंबाट विशेषज्ञ डाक्टर आएको थाहा पाएपछि शिविरमा विरामीको भीड लागेको थियो ।