एफसी क्लब क्यामरुनले जित्यो प्रथम कोहलपुर गोल्डकपको उपाधि

डिल्ली शाही, बाँके

  • १४ चैत्र २०७९, मंगलवार

बाँकेको कोहलपुर नगरपालिका – २ मा भएको प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुन ले जितेको छ ।

ब्वाईज यूनियन क्लब (काठमाण्डौं) लाई पराजित गर्दै एफसी क्लब क्यामरुन (क्यामरुन) ले प्रथम कोहलपुर गोल्डकपको उपाधि जितेको हो ।

गोल्डकप उपाधिसँगै एफसी क्लब क्यामरुन (क्यामरुन) ले नगद ७ लाख रुपैयाँ प्राप्त गरेको छ । ब्वाईज यूनियन क्लब (काठमाण्डौं) ले दोस्रो पुरस्कारमा भने ३ लाख ५० हजार रुपैयाँमा नै चित्त बुझाएको छ ।

फुटबल प्रतियोगिताको निर्धारित समयमा एफसी क्लब क्यामरुन (क्यामरुन)का ११ नम्बर जर्सीका खेलाडि रिचर्ड विल्सन र ७ नम्बर जर्सीका खेलाडि मोसेस टुमले ७७ मिनेटमा १/१ गोल गरी (२-०) मा ब्वाईज यूनियन क्लब (काठमाण्डौं)लाई पराजित गर्दै प्रथम उपाधी हात पार्न सफल भएको हो ।

यस्तै प्रतियोगिता अवधिभरको सर्वोत्कृष्ट खेलाडी एफसी क्लब क्यामरुन (क्यामरुन) का ७ नम्बर जर्सीका खेलाडि मोसेस टुमले जितेका छन् । टुमले बेष्ट फरवार्ड घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा उदाउँदो खेलाडिमा रेसिङ साहारा क्लबका खेलाडि मुकेश घर्ती गुरुङ, गोल्डकप कै उत्कृष्ट खेलाडिमा रेसिङ साहारा क्लबका कप्तान हरि कठायत, बेष्ट मिड फिल्डरमा क्यामरुनका जिओ एल्डो, बेष्ट डिफेन्डरमा ब्वाईज यूनियन क्लबका मनोज श्रेष्ठ, बेष्ट किप्परमा ब्वाईज यूनियन क्लबकै मनोज परियारले जितेका छन् । उनीहरू सबैलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

नगरपालिका वडा नं. २ को १३ विगाहमा रेसिङ साहारा क्लब कोहलपुरको आयोजनामा ४ गतेदेखि संचालन गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता थियो ।

समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरको १३ विगाह क्षेत्रमा रहेको यस फुटबल खेलकुद मैदानलाई स्तरउन्नतीका लागि पालिकाले बजेटको व्यवस्थापन गर्ने बताए  ।

यस्तै रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले आगामी दिनमा यस मैदानलाई अझै व्यवस्थित गरी गोल्डकपलाई निरन्तरता दिने विश्वास दिलाएका थिए । खेल सञ्चालन भएको दिनदेखी करिब दैनिक ५ हजार भन्दा बढि दर्शक आएको उनको दावी थियो ।

रेसिङ साहारा क्लबका अध्यक्ष सचिव नवकिरण शाहले १३ विगाह क्षेत्रको खेलकुद मैदानलाई स्तरउन्नती गर्न यहाँका सबै आम सरोकारवालाहरुमा ध्यानाकर्षण गराएका थिए ।