नेपालमै सबैभन्दा बढी कर तिर्ने नोबेललाई उद्योग बाणिज्य महासंघले गर्यो सम्मान

  • ६ बैशाख २०८०, बुधबार

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था मध्ये नेपालमा सबैभन्दा बढी आयकर तिरे बापत नेपाल उद्योग बाणिज्य महासंघले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई सम्मान गरेको छ । उद्योग बाणिज्य दिवस र उद्योग बाणिज्य महासंघको ५७ औं बार्षिक साधारण सभाको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नोबेललाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र महासंघका अध्यक्ष शेखर गोल्छाले नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र उपाध्यायलाई सम्मान पत्र प्रदान गरी सम्मानित गरे । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पताल सबैभन्दा बढी आयकर तिरेर पटक–पटक सम्मानित हुँदै आएको छ ।

आर्थिक बर्ष २०७३÷०७४, २०७६÷०७७ र २०७७÷०७८ मा नोबेलले स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये नेपालमै सबैभन्दा बढी आयकर दाखिला गरेको छ । सो बापत आन्तरिक राजश्व विभागले नोबेललाई तीन बर्ष उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिसकेको छ ।

२०६१ सालमा विराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका क्षेत्रमा अब्बल मानिन्छ । पटक–पटक मूलुकको उत्कृष्ट करदाता बनेर नोबेलले राज्यलाई बढी योगदान गर्ने महत्वपूर्ण संस्थाको पहिचान पनि थपेको छ ।