सुकुम्बासीलाई जग्गा र धनीपुर्जा दिलाउन सांसद शर्माको सक्रियता
- ६ जेष्ठ २०८०, शनिबार
मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने अभियानमा जुटेका छन् ।
एकपछि अर्को चुनावी बाचा पुरा गर्दै गएका सांसद शर्मा अहिले सुकुम्वासीको समस्या समाधानमा लागेका हुन् । चुनावी अभियानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र सुकुम्वासी समस्या समाधानमा काम गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए । निरन्तरको दौडधुपपछि पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिलाउन सफल भएपछि सांसद शर्मा अहिले सुकुम्वासी समस्या समाधानमा केन्द्रित भएका हुन् । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यस्थित बसोवासीको समस्या समाधानका लागि उनले सदनमा पनि आवाज उठाइरहेका छन् ।
सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने काम छिटो गर्न स्थानीय सरकार, राष्ट्रिय भूमि आयोग र सदनमा पनि उनले घचघचाउने काम गरिरहेका छन् । ‘यो क्षेत्रमा हजारौं परिवार सुकुम्वासी हुनुहुन्छ, मैले चुनावी अभियानका क्रममा उहाँहरुको समस्या समाधानमा सक्दो पहल गर्ने बचन पनि दिएको थिए,’ सांसद शर्मा भन्छन्, ‘सुकुम्वासीलाई प्रकृया पु¥याएर जतिसक्दो छिटो जग्गा उपलब्ध गराउँनुपर्छ भनेर निरन्तर लागिरहेको छु ।’
सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन अहिले कानेपोखरी गाउँपालिकामा जग्गा नापजाँचको काम भइरहेको छ । केही समयअघि शर्मा कानेपोखरी–६ स्थित बिहिबारेमा पुगेर सुकुम्वासी परिवारले भोगचलन गर्दै आएको जग्गा नापजाँचमा सामेल भए । राष्ट्रिय भूमि आयोग र कानेपोखरी गाउँपालिकावाट जग्गा नापजाँचमा खटिएका अमिन र सर्वेक्षकसँग भेट गरी उनले त्यहाँको अवस्थाको वारेमा जानकारी लिए । जग्गा नापजाँचको काम जतिसक्दो छिटो सकेर सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई चाडै जग्गा धनीपूर्जा उपलब्ध गराउने गरी लाग्न कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई उनले आग्रह गरे ।
मोरङको क्षेत्र नं. ३ मा हजारौं परिवार सुकुम्वासी छन् । कानेपोखरी र पथरीशनिश्चरेमा सुकुम्वासीको संख्या धेरै छ । सरकारले सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने प्रकृया थालेपछि कानेपोखरीका मात्रै ४ हजार ८ सय परिवारले जग्गा प्राप्तीका लागि फर्म भरेका छन् । जग्गा नापजाँचमा समन्वय र सहजिकरणका लागि कानेपोखरी गाउँपालिकामा ६ नं. वडाका वडाध्यक्ष खड्ग बस्नेतको संयोजकत्वमा तीन सदस्यीय सहजिकरण समिति पनि बनाइएको छ । समिति संयोजक बस्नेतका अनुसार यसअघि वडा नं. ६ का १६४ परिवारलाई जग्गा धनीपूर्जा वितरण गरिसकिएको छ ।
भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई भोगचलन गर्दै आएको पाँच कट्ठासम्म जग्गा उपलब्ध गराउने गरिएको छ । अव्यवस्थित बसोवासीलाई पनि न्यून मूल्यमा जग्गा दिने गरिएको छ ।