पुर्वमै पहिलोपटक नोवेलमा विना चिरफार गरियो पाठेघरको सल्यक्रिया

  • २९ माघ २०८०, सोमबार

मासिकश्राव गडबड अत्याधिक रक्तश्राव, शारीरिक तथा मानसिक तनाव र गर्भाधानमा समस्या वा गर्भपतन जस्ता समस्या हुने रोगबाट ग्रसित एक जना २९ बर्षिया महिलाको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभाग र इन्टरमेन्सनल रेडियोजोली विभागको समन्वयमा विना चिरफार उपचार गरिएको छ ।  पूर्वी नेपालमा पहिलोपटक यो प्रविधिबाट सफल उपचार गरिएको हो ।

मझरियाका एक जना महिला विगत धेरै वर्ष देखि महिनाबारी गडवड हुने, मासिकश्रावको समयमा अत्यधिक रगत बहने समस्याबाट ग्रसित थिइन् । विवाह पछि दुई पटक गर्भ तुहिएको र एक पटक पाठेघरको नलीमा गर्भाधारण भई अपरेशन गरी नलीनै फालिसकेको र मासिकश्रावको समस्या यथावत नै रहेकोले स्थानिय एक नर्सिङ्ग होममा उपचार गराउदै गर्दा उनलाई भारत स्थीत एम्स हस्पिटलमा रिफर गरिएको थियो । भारत जान खर्च अभाव भएकाले एक पटक नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल गई जाँच गराउने भनी विरामी र अभिभावक नोवेल आएका थिए । चेक जाँचको क्रममा नोवेलका प्रसुती तथा स्त्री रोग विशेषज्ञ प्रा. डा. शान्ति सुवेदीले विरामीको समस्या र विगतका उपचारको जानकारी लिदै परीक्षण गर्ने क्रममा अल्ट्रासाउण्ड गर्दा पाठेघरमा रगतको गुजुल्टो रहेको पाएकी थिइन् । डा. सुवेदीका अनुसार “विरामीको अल्ट्रासाउण्ड गर्दा उनको पाठेघरमा पानीको पोखरीमा भुमरी आएको जस्तो देखिने रगतको गुजुल्टो रहेको थियो जसलाई मेडिकल भाषामा आर्टेरियोभेनस मालफरमेशन भनिन्छ । विरामीलाई यसैले गर्दा रगत बढी बहने र समस्याहरु आएको थियो । यसको उपचारको लागि कि त पाठेघर नै फाल्नु पर्ने हुन्थ्यो तर पाठेघर जोगाउन अल्ट्रासाउण्डको रिपोर्ट र विरामीले नर्सिङ्ग होममा नै गराएर आएको एमआरआईको रिपोर्टको आधारमा इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. गणेश देवकोटाबाट इन्टरभेन्सनल रेडियोलोजी प्रविधीको सहायताले रगतको गुजुल्टोको उपचार गर्न समन्वय भयो । खर्चको हिसाव गर्दा भारत गएर उपचार गर्दा जति खर्च हुन्छ त्यसको आधाको पनि आधा खर्चमा सफल उपचार भएको छ र त्यस पछिको स्क्यानहरुले पनि विरामीको समस्याको राम्रो उपचार भएको देखाएको छ ।”

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. गणेश देवकोटाका अनुसार “प्रसुती तथा स्त्री रोग विभागका प्रा. डा. शान्ति सुवेदीले विरामीको बारेमा जानकारी दिनु भए पछि थप जाँचहरु पश्चात विरामीको समस्याको उपचारको लागि यूटेराइन आर्टरी इम्बोलाइजेसन भन्ने प्रविधीबाट उपचार गर्ने तयारी गरियो । यो प्रविधी के हो ? यसको फाइदा र हुन सक्ने समस्याहरुको बारेमा विरामी र विरामीको अभिभावक संग छलफल पछि उहाँहरु उपचारको लागि तयार हुनु भयो र यो प्रविधीबाट उपचार भए पछि अहिले विरामीको पाठेघरबाट रगत बग्न रोकिएको छ ।”

विरामीका पतिले विरामीको समस्या र उपचारबारे जानकारी दिए “विरामीको मासिकश्रावको समस्याको लागि नर्सिङ्ग होममा उपचार गराउदा कि त भारत जानु कि त काठमाडौं जानु भनेका थिए तर एक जना मित्रले एक पटक नोवेलको आईभिएफमा पनि जाँच गराउनु भनेकाले नोवेलमा आएर जाँच गराएको र डा. शान्तिले नै उपचार सहज बनाई दिनु भएको छ । अहिले विरामीलाई धेरै राम्रो भएको छ ।”

यूटेराइन आर्टरी इम्बोलाइजेसन प्रविधी भनेको केहो भन्ने जिज्ञासामा डा. देवकोटाले भने यो “प्रविधीको उद्देश्य भनेको पाठेघरमा हुने रक्तप्रवाहलाई रोक्नु हो । यो गर्नलाई पेट चिरेर ठूलो अपरेशन गर्नु होइन । निडिल, मसिनो तार र पाइप जसलाई वायर, क्याथेटर र माइक्रोक्याथेटर भन्दछौं त्यसको सहायताले रगतको नलीबाट छिरेर एन्जियोग्राफिको सहायताले पाठेघरमा जाने रगतको नशाहरु पहिचान गरी जुन रगतको नशालाई थुन्न पर्ने हो त्यसलाई विभिन्न पदार्थहरुको सहायताले थुन्ने गरिन्छ । हाम्रो विरामीको पनि पाठेघरमा रक्तश्राव गराउने रगतको नशालाई जेलफम प्रयोग गरी दुवै तिरको नशालाई बन्द गरेको छौं ।”

 

कस्ता विरामीलाई यो प्रविधीले फाइदा पु¥याउछ भन्ने प्रश्नमा डा. देवकोटाले भने “यो त्यस्ता विरामीहरु जसको हिस्टेरोक्टोमी अर्थात पाठेघर फ्याल्न नसकिने वा भविष्यमा बच्चा जन्माउन इच्छा भएका विरामीहरु, साना उमेरका विरामीहरुलाई फाइदाजनक हुन्छ । यसले अनावश्यक रक्तश्रावलाई रोक्ने कार्य गर्दछ र पाठेघरलाई सुरक्षित राख्न सकिन्छ । त्यस्तै फाइब्रोइड यूटेरस वा पाठेघरमा ऐजेरु पलाएका विरामीहरुलाई पनि ऐजेरुलाई रगत प्रवाह गर्ने नलीलाई बन्द गरेर पाठेघर जोगाउन सकिन्छ भने कुनै कुनै महिलाहरुलाई प्रसुती पछि अत्याधिक रगत बहने समस्या हुने हुन्छ । त्यस्तो अवस्थामा पनि यो प्रविधिबाट रक्तश्राव रोक्न सकिन्छ भने विभिन्न कारणले पाठेघरमा रगतको नशा गुजुल्टो पर्ने समस्यामा पनि यो प्रविधी प्रभावकारी हुन्छ । यो प्रविधीको फाइदा भनेको पेट चिर्नु परेन । शल्यक्रिया गर्नु परेन । रगतको नशाबाट सानो तार क्याथेटर छिराएर गरिने भएकोले अस्पताल बसाई पनि छोटो हुन्छ । निको हुने समय पनि छोटो हुन्छ र पाठेघरलाई जोगाउन सकिने भएकोले भविष्यमा बच्चा जन्माउन पनि सकिने हुन्छ । यो प्रविधी पूर्वाञ्चलमा नै पहिलो पटक गरिएको छ । इन्टरभेन्सनल रेडियोलोजीको सहायताले नशा सम्बन्धी धेरै उपचार गर्न सहज भएको छ र यो सुविधा नोवेल मेडिकल कलेजमा रहेको छ ।”

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बरालले पूर्वी नेपालमा नै सवै प्रकारका उपचार सेवा एकै छानामुनी उपलव्ध होस् र यहाँका बासिन्दाहरुलाई उपचारका लागि अन्यत्र जान नपरोस् भनी नोवेलले हर तरहको सेवाहरुको भौतिक पूर्वाधार तयार गरी सोही अनुसारको अत्याधुनिक उपकरणहरु र दक्ष चिकित्सा जनशक्तिको व्यवस्था गर्दै आएको जानकारी दिइन् । उनका अनुसार सोही अनुरुप नै निकट भविष्यमा क्यान्सरका विरामीहरुलाई सुविधासम्पन्न रेडियो थेरापी सेवा पनि सुरु हुने छ ।