नगरपालिकालाई पत्तै नदिई गायब भए बेलबारीका हाकिम र लेखा अधिकृत सहितको टोली

  • ४ फाल्गुन २०८०, शुक्रबार

मोरङको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितको जम्बो टोली नगरपालिकालाई जानकारी नै नदिई घुम्न हिँडेपछि सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।

गत माघ २९ गते नगरको १४ औँ हिउँदे नगर सभा सम्पन्न भएपछि फागुन २ गते बेलबारी नगरपालिकाका कर्मचारीको जम्बो टोली रमाइलो गर्न लेखा शाखा प्रमुख धनमायाको माइती गाउँ सङ्खुवासभा पुगेका हुन् । करिब १ महिना अघि मात्रै नगरपालिका प्रवेश गरेका प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकालको जन्मथलो समेत सङ्खुवासभा नै हो ।

योजना तथा कार्यक्रमको आर्थिक कारोबार थाती राखेर घुम्न निस्कने टोलीमा प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकाल, लेखा अधिकृत धनमाया राई, सूचना प्रविधि उपशाखा प्रमुख कृष्ण न्यौपाने, पूर्वाधार विकास शाखाका दिलीप राजांवशी, वडा नं ११ का इन्जिनियर योगेश गौतम, नगर अस्पतालका कर्मचारी दिनेश गौतम लगायत रहेका छन्। घुम्न हिँडेका मध्ये केही कर्मचारीले भ्रमण तथा अनुगमन भत्ताको लागि समेत आवेदन दिएको पालिका स्रोतको दाबी छ ।

नगर स्रोतका अनुसार माघ २ गते मन्त्रालयको कार्यक्रम छ भनी हिँडेका प्रमुख प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकाल विराटनगर, सडक तथा पूर्वाधार विकास उपशाखाका इन्जिनियर बालकृष्ण निरौला र राम शंकर शाह सार्वजनिक खरिद अनुगमन कार्यालयको तालिममा इटहरी , आइटी अफिसर कृष्ण न्यौपाने कामकै लागि संघिय राजधानी काठमाडौँ र लेखा शाखा अधिकृत धनमाया राई लगायत अन्य कर्मचारीसमेत विभिन्न काम देखाई संखुवसभा पुगेको पाइएको हो । उनीहरू संखुवासभाको चैनपुरस्थित सरस्वती माध्यमिक विद्यालयको परिसरमा पुगेको प्रमाण प्राप्त भएको छ ।

‘योजना छनौटको काम सुरु हुन लागेको समयमा, लेखा शाखाले आर्थिक चलखेल गर्न कर्मचारीलाई घुमाउन लगेको नगरपालिका स्रोतले जानकारी दिएको छ । नगरपालिकाकी उप प्रमुख नीतु थापा कोइरालाले भने यो विषयमा आफूलाई जानकारी नै नभएको बताइन् । उनले भनिन् ‘खै कता जानुभएको हो मलाई त जानकारी नै छैन, एक पटक नगर प्रमुखलाई नै बुझ्नुहोला ।’

यता नगर प्रमुख दिल प्रसाद राईले भने यो विषयमा बोल्न नै चाहेनन् । उनले भने ‘यो विषयमा के बोली रहनु र ? उहाँहरू आएपछि स्वप्रष्टीकरण सोध्छु, अनि बोल्छु ।’

नगरपालिकामा कर्मचारी नभएपछि पालिकाको नियमित काममा समेत असर परेको छ । ऐनअनुसार हरेक उत्तरदायी अधिकारीले आफ्नो अनुपस्थितिमा तोकिएको जिम्मेवारी अर्को व्यक्तिलाई सुम्पनु पर्छ । ती अधिकारीको अनुपस्थितिमा तोकिएका अधिकारीले काम गर्न सक्छन् । तर बिदा नलिई घुम्न गएका नगरका प्रमुख प्रशासकीय अधिकृतले भने आफ्नो जिम्मेवारी कसैलाई नदिई र विना जानकारी घुम्न गएको पालिका स्रोतले पुष्टि गरेको छ ।

नगरपालिकालाई जानकारी नै नदिइ लेखा अधिकृत र इन्जिनियरसहितको टोली लिएर घुम्न गएको बारे प्रमुख प्रसासकीय अधिकृत किरण ढकाललाई शुक्रबार कार्यालय समयभित्रै सम्पर्क गर्दा मोबाइल रिसिभ भएन भने लेखा अधिकृत घनमाया राइको मोबाइल स्वीच अफ थियो ।