कोशी टप्पु जग्गा सट्टाभर्ना समस्याबारे पथरीमा छलफल

  • १० श्रावण २०८१, बिहीबार

पथरी शनिश्चरेमा कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या सम्वन्धमा छलफल कार्यक्रम भएको छ ।
पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा समस्या र समाधानका बारेमा जनप्रतिनिधि तथा राजनैतिक दलका प्रतिनिधिहरुसँग अन्तरक्रिया भएको हो ।
कार्यक्रमको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, कोशी टप्पु जग्गा सट्टाभर्ना उस समितिका संयोजक मधु सुदन अधिकारी, सदस्य सचिव कृष्णप्रसाद सापकोटा, सदस्य लालबहादुर सुस्लिङले सट्टाभर्ना उप समितिले गर्ने कार्यहरुका बारेमा प्रष्ट्याउनुभएको थियो ।
यसैगरी सो कार्यक्रममा पथरीशनिशरे वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले आ–आफ्ना कुरा राखेका थिए ।

कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले समस्या समाधन गर्न जनप्रतिनिधिले मात्र सम्भव नहुने र यसको समाधानका लागि सबै लागिपर्नुपर्ने बताउनुभयो ।

छलफलबाट नगरपालिका क्षेत्रमा रहेको कोशी टप्पु जग्गा सट्टा भर्ना समस्या सम्वन्धमा बसोबासी तथा जग्गा धनी दुवै पक्षको समुचित व्यवस्थापन एवं दीर्घकालीन समस्या समाधानका लागि समितिका पदाधिकारी तथा सम्वन्धित कार्यालयका कर्मचारीहरुलाई स्थलगत भ्रमण, जग्गाको रेखाङ्कन/ नापजाँच गर्न प्रतिनिधि, राजनैतिक दलका स्थानीय प्रतिनिधिहरुले आवश्यकता अनुसार सहयोग तथा समन्वय गर्ने निर्णय गरिएको छ ।

यद्यपी कोशी टप्पुको सट्टा भर्ना पाउनुपर्ने ब्यक्ति तथा उनीहरूले पाउनुपर्ने सट्टाभर्ना बारे केही बिवरण सार्वजनिक गरिएको छैन ।