कर्मचारीको बिदाइका लागि पथरी शनिश्चरेमा ‘फेरि भेटौला’ कार्यक्रम
- ३२ श्रावण २०८१, शुक्रबार
पथरी शनिश्चरे समाचारदाता । पथरी शनिश्चरे नगरपालिकाले नगरबाट सरुवा भइ जाने कर्मचारीहरुलाई विदाईका लागि ‘फेरि भेटौला’ कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा भएको नगरपालिकाकै सभाहलमा भएको सो कार्यक्रममा नगरबाट सरुवा भइ जानेहरु उप–सचिव अधिकृत स्तर दशौं तहमा कार्यरत शालिग्राम काफ्ले, सुजन निरौला, रमेश कुमार चौधरी, इन्दु सुवेदीलाई विदाइ गरिएको हो ।
यसैगरी सोही कार्यक्रममा शनिश्चरे स्वास्थ्य चौकीमा नेपाल स्वास्थ्य सेवा, समूह कम्युनिटी नर्सिङ/पब्लिक हेल्थ नर्सिङ, सि.अ.न.मी पद सहायकस्तर पाँचौ तहमा कार्यरत रही २०८१ जेठ २७ गतेबाट अवकाश हुनुभएका राधा देवी नेपाललाई सम्मान गरिएको थियो । कार्यक्रम प्रशासन शाखाका कर्मचारी लुकनाथ पोखरेलले सञ्चालन गर्नुभएको थियो भने मन्तव्य उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई र सरुवा भई जाने कर्मचारीहरुले आफ्ना अनुभव र कार्यसम्पादनका विषयमा आ–आफ्ना कुरा राख्नुभएको थियो । विदाइ कार्यक्रममा कर्मचारीद्वय जितबहादुर लिम्बु र सरोज भट्टराई अनुपस्थित थिए ।