पृथ्वीनारायण शाहका सल्लाहकार बिसे नगर्चीकाे इतिहास समेटिएको पुस्तक सार्वजनिक 

  • ८ भाद्र २०८१, शनिबार

भुमिप्रसाद पाठक

पृथ्वीनारायण शाह र उनका वुवा नरभूपाल शाहका सल्लाहकार बिसे नगर्चीकाे विषयमा गहिरो खाेज, अनुसन्धान गरी ‘गुमनाम एक इतिहास बिसे नगर्ची ‘ नामक पुस्तक प्रकाशन भएको छ ।

पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ निवासी खाेजकर्ता तथा लेखक दीपेन्द्रराज तिम्सिनाले याे पुस्तक लेखेका हुन् ।
बिसेकाे जन्म स्थल गाेरखा पुगेर उनलाई र उनको सन्तान, छाेरालाई दिएको सनदपत्र, लालमाेहर , बिसेका सन्तान सहित भेटेर गहिराे अध्ययन सहित याे पुस्तक लेखेको लेखक तिम्सिनाले बताए । नेपालका पुराना इतिहाँसकार सँगकाे साेधखाेज गरि किताब लेखिएको छ । विभिन्न समयमा इतिहासकारहरुले लेखेका ऐतिहासिक दस्तावेजमा पनि बिसेले नुवाकोट २ पटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई सहि समयमा सहि सल्लाह दिएर युद्ध जितेको इतिहास पाईन्छ ।
एउटा सही सल्लाहकार भयो भने राज्य बनाउन र युद्ध नै जित्न परे पनि सजिलै सकिन्छ । यही उदाहरण नेपालकाे इतिहासमा पाईन्छ । यस्तो उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो बिसे नगर्ची । अहिले लाेकतन्त्रका शासकका नातेदार, बग्रेल्ती सल्लाहकार राखेका छन् । राखिएका सल्लाहकार विज्ञताकाे आधारमा नभई आफन्तकाे आधारमा । स्वकीय सचिव,सल्लाहकारहरूले न सल्लाह दिन्छन् न सल्लाह लिन्छन् अनेक दबाब र प्रभावमा निर्णय गराउने प्रवृत्ति डरलाग्दो गरी बढेको छ । सामान्य अवस्थामा रहेका बिसे नगर्चीले दिएको सल्लाह नै पृथ्वीनारायण शाहलाई युद्ध जित्ने अष्त्र झै बनेको थियोे । नुवाकोट आक्रमणमा हार व्यहाेरेका पृथ्वीनारायण शाह हतियार किन्न चाहन्थे । तर त्यसबेला राज्य काेषमा पैसा थिएन । युद्ध जित्न याेद्दा कुशल भएर मात्र हुदैन हतियार पनि गुणात्मक चाहिन्छ । एकाविहानै देखि उठेर दरबारमा चिन्तित बनेर टाेलाई रहेका पृथ्वीनारायण आमालाई काैशल्यावतीले देखेर एकदिन बिहान साेधिछन् छाेरा तिमीलाई के भयो भनेर । त्यसबेला राजा पृथ्वीनारायणले नुवाकोट हार बेहाेरेकाे र थप आक्रमण गर्न हतियार नभएको कुरा आमालाई सुनाएछन् । याे कुरा सुनेर आमाले दरबारमा नगरा बजाउने बिसे नगर्चीलाई भेटेर सल्लाह लिन भनिछन् । साेहि अनुसार भाेलिपल्ट बिहानै राजा बिसेकाे घर गएछन् ।
कस्तो थियो सामरिक महत्त्वकाे सल्लाह
राजा एक्कासि घरमा आएको देखेर बिसेले महाराज के कामले मेरो घरमा पालिबक्स्याे भन्दै साेधेछन् । राजाले तिमिलाई थाहा छदैछ नुवाकोट हार व्यहोर्नुपरेको अब लडाइँ लड्नुछ । हात हतियार चाहिएको छ । राज्य काेषमा पैसा छैन कसरी हतियार किन्ने भनेर तिमिसँग सल्लाह लिन आएको तिमी त हाम्रो बुवाकाे पालादेखि सल्लाह दिदै आएको सुनेकाेछु उचित सल्लाह देउ भनेछन् ।
म जस्तोले के सल्लाह दिन सक्छु र भनेछन् । सल्लाह भनेको मान्छे सानो ठूलो पढेकाे नपढेकाे भन्ने हुदैन राजाले भनेछन् ।
बिसेले कति दाम चाहिएको महाराज भनेर राजालाई साेधेछन् । १२ हजार दाम भए त पुग्दाे हाे राजाले भने । गाेरखा राज्यमा कति छन् महाराज बिसेले राजालाई साेधेछन् ।
पुग नपुग १२ हजार घर हाेलान भनेछन् राजाले भनेछन् ।
याे कुरा राजाको सुनेर बिसे घरको काेठामा पसेछन् ।
काेठाभित्र पसेर बिसेले एक पैसा, पाँच पैसा, गरेर जम्मा गरेर एक माेहर बनाई राजाको हातमा चढाई साेहि अनुसार प्रत्येक घरधुरी बाट १/१ रुपैया उठाउन सल्लाह दिएकोले साेहि अनुसार पैसा उठाई काँसि गएर हतियार किनेर ल्याई नेपाल एकीकरण सफल भएको जनश्रूति रहेको साथै इतिहासकारहरुले विभिन्न दस्तावेजमा लेखेका छन् ।
राज्य एकिकरणमा उचित सल्लाह दिने नगर्चीलाई राज्यले कस्तो सम्मान दियो, उहाँको परिवार कहाँ कसरी बसिरहेका छन् याे खाेज अनुसन्धानकाे बिषय हाे । महाकवि लक्ष्मीप्रसाद देवकोटा ले भने झै मानिस ठूलो दिलले हुन्छ जातले हुदैन । सल्लाह दिने मान्छे ठूलो, उपल्लो जातको सम्पन्न हुनुपर्छ भन्ने हुदैन । बिसे नगर्ची दरवारमा नगरा बजाउने, कटुवाल फलाक्ने, दरवारकाे बालिघरे हुनुहुन्थ्यो । तर यस्तो सामरिक सल्लाह दिने बिसे लाई अहिलेसम्म राज्यले सम्मान गरेको छैन ।
विभिन्न युद्धमा बिसेकाे सहभागीता
पृथ्वीनारायण शाहको पालामा भएको विभिन्न युद्धमा बिसेकाे सहभागीता रहेको विभिन्न इतिहासकार तथा खाेज कर्ताले खाेजेकाे दस्तावेजबाट थाहा हुन्छ । नुवाकोट युद्धमा उहाँ सहभागी हुनुभयो । तेस्रो पटकको नुवाकोट हमलामा सिपाही भयर युद्धमा सामिल हुनुभएकाे थियाे । पछि नुवाकोट विजय भई सकेपछि यी बुढा महाराज संगै अन्तरिम राजधानी नुवाकोट मै रहने गर्दथे | नुवाकोटको युद्धमा तिरधारे माेर्चाबाट पृथ्वीनारायण सँगै सहभागी भएको कुरा गाेरखामा बिसेकाे सालिक सँगै राखिएको सिलालेखमा उल्लेख छ । त्यसबेला उहाँ तीनधारे माेर्चाबाट नालदम, अजिरकाेट र सिरानचाेककाे लडाइँमा सहभागी भएको साेहि सिलामा उल्लेख छ । त्यसैगरी बिसे स्याङ्जाको लडाइँमा पनि सहभागी भएको थिए ।
स्याङ्जाको वहाबकाेटमा बिसे नगर्चि चाेक नै रहेको छ । याे चाेककाे नाम रहनुमा बिसेकाे लडाइमा सहभागीता रहेको थाहा हुने परियार सेवा समाजले उल्लेख गरेको सिलामा लेखिएको छ ।
परियार समाज, केन्द्रीय समिति तथा सम्पूर्ण परिवार बन्धुहरूले बिसेको शालिकमा राखिएको शिलालेखमा बिसेको जन्म विसं १७४६ र मृत्यु विसं १८२८ मा उल्लेख छ । यसअनुसार उनी ८२ वर्ष बाँचेका देखिन्छ । बिसे नगर्चीले गोरखाली पक्षधर भएर विभिन्न युद्धमोर्चामा भाग लिएका ऐतिहासिक प्रमाणहरू प्राप्त छन् । उनी पृथ्वीनारायण शाहसँग उनकै मोर्चामा रहेर नुवाकोटको युद्धमा सहभागी भएका थिए । नुवाकोट विजय भएपछि उनले नगरा बजाएका थिए । यसैगरी गोरखाको सिरानचोकको युद्धमा पनि उनी सहभागी थिए, जहाँ गोरखालीले लमजुङेहरूलाई हराएका थिए । नुवाकोटको युद्धमा बिसे नगर्ची पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानअन्तर्गत नुवाकोटमा भएको युद्धमा बिसे नगर्ची सहभागी थिए ।
बिसेलाई विम्वमा प्रयोग गरि २०६२/२०६३ जनआन्दोलनमा कवि श्रवण मुकारुङले ‘ बिसे नगर्चीकाे बयान’ शिर्षककाे कविता ले निकै चर्चा पाएको थियोे ।
पुस्तककाे प्रकाशक लिला निराैला तिम्सिना रहनु भएको छ भने दमक श्रष्टा छापाखानाले छापेको याे पुस्तक १ सय ५६ पेजको रहेको छ । विभिन्न नेपालका इतिहासकारहरुसँग साेधखाेज गरी ४९ वटा शिर्षकमा लेखिएको तिम्सिनाले लेखेको याे १२ आै खाेजमूलक कृति हाे । यश अघि तिम्सिनाले टेलिफोन डायरी २०६८ माेरङकाे सामुदायिक वन एक चिनारी २०६९ माेरङकाे क्षेत्र नं २ एक चिनारी २०७० पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७ जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७ जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दाेस्राे संस्करण २०७८ धिमाल जातिकाे इतिहास विगतदेखि वर्तमानसम्म २०७८ इतिहासमा पथरी शनिश्चरे २०७८ माेरङका जनप्रतिनिधि संङगालाे २०७९ माइखाेलादेखि पुनर्वाससम्म २०८० र तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म २०८० लगायतका दर्जन पुस्तकहरु लेखिसक्नु भएको छ ।