पथरी शनिश्चरे नगरपालिकामा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

  • १९ भाद्र २०८१, बुधबार

माेरङ पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यपालिकाको सभाहलमा भएको सो समीक्षा कार्यक्रममा नगरपालिकाका शाखा प्रमुखहरु र वडा सचिवहरुले आ–आफ्नो कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा सुरुवातमा कार्यक्रमको विषयमा प्रमुख प्रशासकीय अधिकृत शशि राईले प्रष्ट्याउनु भएको थियो । प्रशासन शाखा प्रमुख लुकनाथ पोख्रेलले सञ्चालन गर्नुभएको समीक्षा कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू र विभिन्न शाखाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

त्यसैगरी नगरपालिकाका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम पनि सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगर कार्यपालिकाको सभा हलमा भएको सो कार्यक्रममा समग्र नगरको स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम गरिएको छ । सोही अवसरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको साझेदार संस्था करुणा फाउण्डेसन नेपालको विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको थियो ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले र प्रमुख प्रशासकीय अधिकृत शशि राई र वडा नं. १० का अध्यक्ष जीवन खतिवडा र नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले आ–आफ्ना कुरा राख्नुभएको थियो ।
यसैगरी नगरपालिकासँग अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको साझेदार संस्था करुणा फाउण्डेसन नेपालको विदाई तथा फेरि भेटौला कार्यक्रम मार्फत् करुणा फाउण्डेसनका प्रतिनिधिहरुलाई विदाई गरिएको छ । करुणा फाउण्डेसनका कार्यक्रम व्यवस्थापक सन्तोष घिमिरे, जिल्ला संयोजक भारती देव, कार्यक्रम अधिकृत सुरज कुमार सरदार, लेखा अधिकृत हिरा लक्ष्मी वस्नेत, अनुगमन तथा मूल्यांकन अधिकृत प्रिती खड्का, सी.बी.आर. अधिकृत रन्जु दुलाल, कार्यक्रम सहायक मिना खनाललाई ‘मायाको चिनो’ प्रदान गरी विदाई गरिएको हो ।

नगरका स्वास्थ्य सह–संयोजक सिअहेव अधिकृत एकराज खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य अधिकृत जगत प्रसाद मगरले राख्नुभएको थियो l नगरको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको प्रस्तुतिकरण महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेलले राख्नुभएको थियो ।