अन्तर मावि स्तरिय हाजिरी जवाफ प्रतियोगितामा पञ्चायत मावि प्रथम 

  • २१ भाद्र २०८१, शुक्रबार

पथरी शनिश्चरे नगरपालिका वडा न. ७ मा अबस्थित दुर्गा माविको  आयोजनामा भएको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा पन्चायत मावि प्रथम भएको छ ।
पथरी शनिश्चरे नगरपालिका भित्रका अन्तर सामुदायिक माध्यमिक विद्यालय स्तरिय प्रतियोगितामा आयोजक विद्यालय सहित जम्मा- ११ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयबाट प्रश्नहरुको छनौट गरिएको प्रतियोतात्मक रुपमा संचालन भएको हाजिरी जवाफ प्रतियोगितामा पथरी शनिश्चरे १ को पञ्चायत माविका विद्यार्थी प्रथम भएका छन । प्रथम भएका विद्यार्थीलाई  पथरी शनिश्चरे नगरपालिका कार्यालयका नगर खेलकुद तथा शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकी र विराज राजा कल्याण समाज नेपाल पथरी शनिश्चरे- १ मोरङका संरक्षक योगेन्द्रमान कार्कीले संयुक्त रुपमा नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए ।
यस्तै पथरी शनिश्चरे- ७ को चन्द्र किराँतेश्वर मावि दोस्रो, पथरी शनिश्चरे- ४ को भागिरथ मावि तेस्रो र पथरी शनिश्चरे- ५ को सुगाहाट मावि र आयोजक दुर्गा मावि सान्तावना भएका उनीहरुलाई विद्यालयका प्रधानाध्यपक यादव घिमिरे, भूपु सैनिक अंग्रेजी स्कुलका प्रिन्सिपल उपेन्द्र कँडेल र मनकामना सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष मोहन कुमार श्रेष्ठले पुरस्कार रकम र प्रमाण पत्र प्रदान गरे ।

कार्यक्रममा पथरी शनिश्चरे- १ को सुनाखरी मावि, पथरी शनिश्चरे ३ को जनता मावि, पथरी शनिश्चरे- ५ को अमरसिंङ मावि, पथरीशश्चिरे -७ को बालकल्याण मावि, पथरी शनिश्चरे -८ को बुद्ध मावि र पथरी शनिश्चरे ९ को सिहबाहिनी माविमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
पुरस्कार छनौट नपरेका सहभागी विद्यार्थीहरुलाई पनि यातायात खर्च उपलब्ध गराइएको विद्यालयले जनाएको छ ।

विराज राजा कल्याण समाज नेपाल पथरी शनिश्चरे १ मोरङका अध्यक्ष बिराज राजा कार्की (हाल अमेरिका) र संरक्षक योगेन्द्रमान कार्कीको आर्थिक सहयोगमा यो कार्यक्रम भएको थियो ।