मोरङ कारागारमा बेलबारी घर भएका एक कैदीको मृत्यु

  • २५ भाद्र २०८१, मंगलवार

जिल्ला कारागार मोरङका १ जना कैदीको उपचारका क्रममा  मृत्यु भएको छ ।
मोरङको बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङको विराटनगरस्थित कोशी अस्पतालमा आइतबार  मृत्यु भएको हो । खुट्टा सुन्निने र मुटुमा समस्या देखिएका कारण उनलाई उपचारका लागि भदौ २० गते अस्पताल भर्ना गरिएको थियो ।
मोटरसाइकल चोरीका विभिन्न घटनामा संलग्न तामाङको उपचार हुँदाहुँदै मृत्यु भएको कारागारका जेलर चेतनाथ बरालले बताए । स्वास्थ्यमा सुधार नभएपछि  थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको तर, थप उपचार नपाउँदै तामाङको ज्यान गएको जेलर बरालले बताए  ।

विभिन्न ठाउँमा मोटरसाइकल चोरीमा संलग्न तामाङविरुद्ध ५ वटा जिल्लामा चोरी मुद्दा चलेको छ । मोरङमा मात्रै २ वटा मुद्दा छन् । एउटा मुद्दाको फैसला भइसकेको छ भने अर्को विचाराधीन नै छ ।
तामाङविरुद्ध मोरङ बाहेक झापा, सुनसरी, इलाम र धनकुटामा मुद्दा छन् । मोरङमा रहेको एउटा मुद्दामा जिल्ला अदालतले ४ महिना कैद र १५ हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो ।अर्को मुद्दामा १ लाख रुपैयाँ धरौटी माग भएको थियो । धरौटीबापतको रकम बुझाउन नसकेपछि अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । तामाङ २०८० माघ २१ गतेदेखि मोरङ कारागारमा थिए ।

उनीसँग चोरी मुद्दामै धनकुटा अदालतबाट धरौटीबापत ३ लाख ५० हजार र सुनसरी अदालतबाट २ लाख रुपैयाँ माग भएको थियो । दुवै अदालतले मागेको धरौटी तिर्न नसकेपछि उनी कारागार चलान भए ।

जिल्ला कारागार मोरङमा क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दी छन् । जसका कारण कारागारभित्र कैदी बन्दीको दैनिकी निक्कै कष्टकर बनिरहेको छ । उनीहरूलाई खाने, बस्ने र सुत्ने ठाउँको सङ्कट भइरहेको छ । जेलर बरालका अनुसार कारागारमा हाल ४ नाबालक र ९७ महिलासहित १ हजार ५९ जना कैदीबन्दी छन् ।