जिरिखिम्ती खण्डमा राजमार्ग विस्तार गर्दा बस्ती नै प्रभावित हुने

  • २६ भाद्र २०८१, बुधबार

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथरी शनिश्चरे नगरपालिकाको जिरिखिम्ती खण्डमा राजमार्ग विस्तार सम्वन्धमा  भएको छलफलबाट विभिन्न निर्णयहरु गरिएको छ ।

पथरी शनिश्चरे नगरपालिकाको प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा नगरपालिकाको सभाहलमा भएको छलफलमा  वडा नं. १० स्थित जिरिखिम्ती खण्डमा हाल बिस्तार भैरहेको पूर्व पश्चिम सडक व्यक्तिको नाममा स्रेस्ता रहेको र सडक विस्तार हुने क्रममा सडकको दाया बायाँ क्षेत्र लिंदा सडकको उत्तर क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरु  प्रभावित हुने अवस्था रहेकोले आयोजनासँग सम्वन्धित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित गुनासो सुनुवाई समितिमा छलफल गर्ने गरी अनुरोध गरिने निर्णय गरिएको छ ।

सो  समस्याको उचित समाधानको लागि छलफल गरी निष्कर्षमा पुग्ने सो कार्यका लागि प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गर्ने र  छलफल नभएसम्म डाँसखोला र मोरङ्गी खोलाको बीचको क्षेत्रमा सडक स्तरोन्नति कार्य अगाडि नबढाउने निर्णय गरिएको छ ।
सो छलफलमा इलाका प्रशासन कार्यालयका उपसचिव रुद्रप्रसाद न्यौपाने, मालपोत कार्यालय बेलबारीका मदन घिमिरे, नापी कार्यालय बेलबारीका प्रशान्त घिमिरे, आयोजना प्रमुख इटहरीका जगत प्रजापति, वडा अध्यक्ष जीवन खतिवडा, आयोजना कार्यालयका इन्जिनियर पल्लव श्रेष्ठ लगायतको उपस्थिति थियो ।