असोज ११ देखि हुने सातौ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी तीब्र 

  • ६ आश्विन २०८१, आईतवार

भुमिप्रसाद पाठक / मोरङको बेलवारीमा असोज ११ गतेदेखि १९ गतेसम्म सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप -२०८१ हुने भएको छ।

आयोजक एल एक्स सिटी फुटबल क्लबले आईतबार बेलवारी नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो ।
सो प्रतियोगिताको लागि बेलबारी नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको छ । लक्ष्मी मार्ग निवासी पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मज एन. बी. राईको स्मृतिमा यस वर्षदेखि रनिङ कप गोल्डकपको सौजन्य गरेका छन् ।  २ तोला ५०० ग्राम चादि र २ तोला सुन जडित ८ लाख बराबरको ट्रफी जित्न कुनै एक फुटबल क्लबले लगातार ३ वर्ष सो प्रतियोगिताको उपाधी उचाल्नु पर्नेछ। सम्मेलनमै नगरप्रमुख दिल प्रसाद राईको उपस्थितिमा ज्योतिराजले आयोजक एल एक्स सिटी क्लबका अध्यक्ष विक्रम राईलाई ट्रफी हस्तान्तरण गर्नु भएको थियो।
प्रतियोगिताका प्रथम र दोस्रो स्थान हासिल गर्ने फुटबल टिमले क्रमश : ८ लाख र ४ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक एल एक्स सिटी फुटबल क्लब अध्यक्ष विक्रम राईले बताउनुभयो । आयोजकका अनुसार हरेक खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई ५ हजार नगद दिइनेछ । प्रतियोगिताको फाइनल खेलमा सर्वोकृष्ट खेलाडी , सर्वोत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्सर, सर्वोत्कृष्ट मिटफिल्डर, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने भएको हो।
प्रतियोगितामा ६० लाख आय र ५५ व्याय हुने अनुमान गरिएको छ।
प्रतियोगितामा झापा ११ एफसी , एल एक्स सिटी एफसी, भोजपुर डी एफ ए, ब्रिगेड बोइज काठमाडौँ , सलहेश युथ क्लब सिराहा, डल्सिङ पारा एस ए इन्डिया , रारा एफ सी धनकुटा, बुटवल लुम्बिनी एफसी बुटवल, चितलाङ एफसी काठमाडौँ र नेपाल पुलिस क्लब काठमाडौँ सहित कुल १० वटा टिमले सहभागिता जनाउनेछ।

गोल्डकप फुटबल प्रतियोगिताको माध्यमबाट देश विदेशमा बेलबारी नगरपालिकालाई चिनाउने र नगरको शान उच्च राख्ने कुरामा आफूले विश्वास लिएको बताउनु हुंदै बेलबारी नगरप्रमुख दिल प्रसाद राईले खेलकुद क्षेत्रमा मोरङ जिल्लाकै दोस्रो ठुलो पुरस्कार राशी भएको प्रतियोगिता बेलबारीमा हुन लागेको दावी गर्नुभयो।