भारतीय टीमलाइ पराजित गर्दै सलहेस क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा

  • ७ कार्तिक २०८१, बुधबार

भारत पश्चिम वंगालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सलहेस क्लबको बुधबार जितसँगै गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । सहलेस फुटबल क्लबले कात्तिक ९ गते चित्लाङ फुटबल क्लबसँग दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
सहलेश फुटबल क्लबका अजयी मार्टिनले चौथो मिनेटमा गोल गरे । समीर तामाङले दिएको पासलाई मार्टिनले गोल गरेका थिए । लगत्तै ८ ओैं मिनेटमा मार्टिनको पासमा समीर तामाङले गोल गरे । अन्डर ट्वान्टीको राष्ट्रिय टिमका खेलाडी समीर तामाङले २६ ओैं मिनेटमा सहलेसको जितका लागि वान भर्सेस वानमा अर्को  उत्कृष्ट गोल गरे ।
दलसिंहपारा फुटबल एकेडेमीले मध्यान्तर अघिको अतिरिक्त समयमा १ गोल फर्कायो । दलसिंहपाराका लागि रोहन थापाले गोल गरे ।

मध्यान्तर अघि ३–१ गोलको अग्रता बनाएको सलहेस बिरुद्ध भारतीय टिमले ४६ ओैं मिनेटमा सुन्दर गोल गर्दै गोल अन्तर घटाएको थियो । दलसिंहपाराका लागि दोस्रो गोल रोहन थापाले गरे । २ गोल गरेर खेलमा फर्किएको भारतीय टिमले मध्यान्तर पछि उत्कृष्ट खेल खेलेपनि हार टार्न सकेनन ।

बुधबारको खेलमा सलहेस फुटबल क्लबका समीर तामाङ म्यान अफ द म्याच घोषित भए । तामाङलाई प्रदेश खेलकुद विकास समिति कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (परशुराम) ले नगद ५ हजार सहित ट्रफि प्रदान गरे । बिहीबार पहिलो सेमिफाइनलमा झापा ११ ले बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताका प्रथम र दोस्रो स्थान हासिल गर्ने फुटबल टिमले क्रमश : ८ लाख र ४ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक एल एक्स सिटी फुटबल क्लब अध्यक्ष विक्रम राईले बताए ।