झापा ११ ले जित्यो सातौं आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि
- १० कार्तिक २०८१, शनिबार
आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करणको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ ।
शनिवार मोरङको बेलबारी–११ स्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा सलहेस फुटबल क्लब सिराहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै झापाले उपाधि रक्षा गरेको हो । उपाधिसँगै झापा ११ को टीम ८ लाख नगद सहित अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफीको दाबेदार भएको छ । बिजेताले सुन र चाँदीको कप लैजानका लागि भने लगातार तीनपटक उपाधी उचाल्नुपर्नेछ । यस्तै उप विजेता सलहेस फुटबल क्लब सिराहाले चार लाख नगद सहित ट्रफी प्राप्त गरेको छ ।
सिर्धारित खेलमा एक-एक गोलको बराबरी भएपछि निर्णयका लागि पाँच पाँच खेलाडीले टाइब्रेकर प्रहार गर्दा झापा ११ का पाँचैजना दिनेश उराव,अभिषेक गुरुङ, शौरभ लिम्बू,उत्सव राई र देवेन्द्र तामाङले झापाको जितको लागि गोल गरे । सलहेश फुटबल क्लव सिराहाका राम थापा ,आदित्य शाक्य र विप्लव गुरुङले गोल गर्दा समीर तामाङको प्रहार झापाका गोल रक्षक सन्दिप लिम्बूले बचाए । समीरको प्रहार सन्दीपले बचाएपछि सलहेश एउटा प्रहार नगर्दै पराजित भयो ।
यसअघि गोल रहित बराबरीमा मध्यान्तर अघिको खेल सकिएको थियो । ५० औं मिनेटमा सलहेश फुटवल क्लब सिराहाका अजयी मार्टिनले हेडिङ मार्फत गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा झापाका प्रदीप बुढाथोकी जवाफी गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । १–१ गोलको बराबरी भएपछि हेर्न लायक भएको फाइनल प्रतिस्पर्धा निर्धारित अबधीमा थप कुनै गोल नभइ टुङ्गियो । त्यसपछि खेलको अन्तिम निर्णय सिंधै टाइब्रेकरबाट गरिएको थियो ।
फाइनल खेलको म्यान अफ द म्याच अभिषेक गुरुङ घोषित भए । उनले नगद ५ हजार सहित ट्रफि प्राप्त गरे ।
विभिन्न बिधामा को को भए उत्कृष्ट खेलाडी ?
झापाका सन्दीप लिम्बू उत्कृष्ठ गोल रक्षक, उत्सव राई उत्कृष्ठ मिड फिल्डर, सन्तोष गुरुङ उत्कृष्ठ कोच र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए । तामाङले १० हजार नगद सहित ट्रफि र अरु खेलाडीले जनही ७ हजार नगद र ट्रफि प्राप्त गरे । यस्तै सलहेश फुटवल क्लवका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिमा पाँच गोल गरेका थिए । सलहेशका समीर तामाङले उत्कृष्ठ फरर्वाडको उपाधिसँगै ७ हजार नगद र ट्रफि प्राप्त गरे । विजयी टिमका खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका सांसदहरू ज्ञानेन्द्र सुबेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई, उप प्रमुख नितु थापा कोइराला र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राई लगायतले ट्रफि,प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए । साबिक डाँगीहट युथ क्लबबाट परिवर्तित एलएक्ससिटी फुटवल क्लब बेलबारी–११ ले कात्तिक २ गते देखि प्रतियोगिता आयोजना गरेको हो ।