इटहरी उर्लाबारी सडक खण्डमा बढे सडक दुर्घटना, १० दिनमा ८ जनाको मृत्यु 

  • १२ मंसिर २०८१, बुधबार

 पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी-उर्लाबारी सडक खण्डमा मंसिर १ देखियता १० दिनभित्र भएका १७ वटा सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
  सुन्दरहरैँचाको बूढी खोलादेखि उर्लाबारीको मावा खोलासम्मको करिब ३६ किलोमिटर सडकमा १० दिनको अवधिमा दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
ती दुर्घटनामा १९ जना घाइते भएका छन् । केही घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी जोशीले बताए । दुर्घटनामा अधिकांश मोटरसाइकल परेका छन्
 मंसिर १ गते दिउँसो पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको थियो । पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको थियो ।
पथरीशनिश्चरे नगरपालिका–१ जाँते मोडमा मंसिर २ गते बिहान ११ः२० बजेतिर  पानी बोकेर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ३५९२ नम्बरको पिकअप गाडीले पश्चिमतर्फ नै आउँदै गरेको प्रदेश १–०२–०५५ प ७३८ मोटरसाइकललाई ठक्कर दिएको थियो ।
त्यसपछि अनियन्त्रित बनेको मोटरसाइकल पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१६३ नम्बरको बसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का २८ वर्षीय रमेश खड्काको मृत्यु भएको थियो । सो दुर्घटनामा  मोटरसाइकलको पछाडि सवार उदयपुरको चौदण्डीगढी नगरपालिका–२ की २४ वर्षीया कृष्णकुमारी खड्का घाइते भएकी थिइन् । उनको न्युरोमै उपचार भइरहेको छ ।
मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मंसिर ६ गते अपरान्ह ४ः४५ बजेतिर  पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो  ।
दुर्घटनामा पथरीशनिश्चरे–४ का ३३ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र झापाको दमक नगरपालिका–१० का २८ वर्षीय अमृत लिम्बूको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पथरीशनिश्चरे–५ का ४२ वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएका छन् । उनको बी एन्ड सी अस्तालालमा उपचार भइरहेको छ ।
सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ च ०४७ नम्बरको हायसले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्दै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री सुन्दरहरैँचा–४ का ४४ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको थियो ।
पथरीशनिश्चरे नगरपालिका–१ स्थित पश्चिम बस स्टेण्डनजिक मंसिर १० गते अर्थात सोमबार साँझ ७ बजेतिर दुर्घटना भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एनएल ०१ एडी ५५११ नम्बरको लहरीले पूर्वतर्फ नै जाँदै गरेको प्र–१–०२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–११ का अन्दाजी २० वर्षीय टार्जन राईको मृत्यु भएको छ ।
प्रहरीका अनुसार उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए  ।
कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले पूर्व–पश्चिम राजमार्गको मोरङ खण्डमा पछिल्लो समय दुर्घटनाको अवस्था भयावह बनेको बताए ।
एसपी घिमिरेका अनुसार साँघुरो सडक र तीव्र गतिका कारण दुर्घटना धेरै भइरहेको पाइएको छ । दुर्घटना बढी भएका र हुनसक्ने सम्भावित ठाउँहरुमा सडक विभाग तथा निर्माण कम्पनीसँग समन्वय गरेर ‘स्पिड ब्रेकर’ लगाउने तयारी भइरहेको उनको भनाइ छ ।
अधिकांश दुर्घटना मोटरसाइकलले जथाभावी ‘ओभरटेक’ ९अर्को सवारीसाधनलाई उछिन्ने गर्दा भइरहेको ट्राफिक प्रहरीको विश्लेषण छ ।