पालिकाका नागरिकलाइ निःशुल्क एम्बुलेन्स सेवा दिने ग्रामथान गाउँपालिकाको निर्णय

  • १९ मंसिर २०८१, बुधबार

मोरङ ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले पालिकाका सम्पूर्ण नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।

पालिकाको प्राङ्गणमा शपथग्रहण पछि पदभार ग्रहण गर्दै बुधबार उनले यस्तो निर्णय गरेका हुन् । ग्रामथान गाउँपालिकाभर वा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थामा जान ग्रामथान गाउँपालिका भित्रका जुनसुकै स्थानमा दुर्घटना वा अन्य कुनै कारणबाट आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने अन्य व्यक्तिहरुलाई एम्बूलेन्स सेवा पूर्ण रुपमा उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले जानकारी दिए ।
माझीलाई बुधबार नै मोरङका जिल्ला न्यायाधिश उद्धब भट्टराईले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् । शपथग्रहण कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदी, कोशी प्रदेशका सांसद जयप्रकाश चौधरी, पूर्वमन्त्री विजय विश्वास, पूर्व प्रदेशसभा सांसद कुलप्रसाद साम्बा लगायतको उपस्थिति थियो ।
शपथग्रहण पछि पदभार ग्रहण गर्दै अध्यक्ष माझीले जनताको इच्छा र आकांक्षा अनुरुप आफू अगाडि बढ्ने बताए । उनले आफूले जनतासँगै काम गर्ने प्रतिबद्धता जनाए ।