केराबारी ९ मा तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता २०८१ हुँदै

  • २९ मंसिर २०८१, शनिबार

केराबारी ९ कुसुमेमा आइतबारदेखि तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता २०८१ शुरु हुन लागेको छ ।
चासोक तङ‌नाम, साकेला, चासुवा, फूलस्याँदर (उधौली पर्व) को अबसर पारी कुसुमे साइनिङ क्लवको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताका लागि केराबारी गाउँपालिका मुख्य सहयोगी, देवीझोडा सामुदायिक वन मुख्य प्रायोजक , सीजी ग्रुप प्रायोजक छन् ।
प्रतियोगितामा मोरङ, सुनसरी र झापाका ८ टीम सहभागी छन् । प्रतियोगितामा एपीएफ पकली , लेटाङ फुटबल क्लव, पटनाली फुटबल क्लव (धरान), चुलाचुली फुटबल क्लव (झापा), गोल्डेन स्टार क्लव (दुहबी) , कुसुमे साइनिङ क्लव, रोयल स्र्पोटिङ क्लव (दमक) र भाउन्ने युथ क्लव सहभागी रहेकोे आयोजकले जनाएका छन् ।
आइतबार कुसुमेस्थित कुसुमे खेल मैदानमा प्रतियोगिता उद्घाटन हुँदैछ । केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले प्रमुख अतिथिको रूपमा प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ । आइतबार उद्घाटन खेल एपीएफ पकली र लेटाङ फुटबल क्लबबिच हुने आयोजक कुसुमे साइनिङ क्लबका अध्यक्ष भक्तशेर लिम्बूले जानकारी दिए ।
प्रतियोगितामा मिडिया पार्टनरका रूपमा रेडियो बेतना, संयन्त्र मिडिया, कछुवा दैनिक, उज्यालो प्रदेश, फटाफट न्युज, बेतना दैनिक र कोशी नेपाल मिडिया छन् ।
प्रतियोगिताको फाइनल खेल पौष ६ गते हुनेछ । प्रतियोगितामा प्रथम हुने टीमले ७५ हजार नगदसहित ट्राफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने टीमले ४१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताबाट ४ लाख ५० हजार आम्दानी र ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कुसुमे साइनिङ क्लबले बिगत तीन बर्षदेखि बर्सेनि उधौली पर्वको अबसरमा प्रतियोगिता आयोजना गर्दै आएको छ ।