तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा लेटाङ बिजयी

  • ३० मंसिर २०८१, आईतवार

केराबारी ९ कुसुमेमा आइतबारदेखि तेस्रो कुसुमे उधौली कप फुटबल प्रतियोगिता २०८१ शुरु भएको छ ।
चासोक तङनाम, साकेला, चासुवा, फूलस्याँदर (उधौली पर्व) को अबसर पारी कुसुमे साइनिङ क्लवको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।
केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले प्रमुख अतिथिको रूपमा पानसमा बत्ती बालेर तथा साँस्कृतिक ढोल झ्याम्टा बजाएर प्रतियोगिता उद्घाटन गरेकी थिइन् ।
क्लबका अध्यक्ष भक्तशेर लिम्बुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह, केराबारी गाउँपालिकाका पुर्व अध्यक्ष रोहितबहादुर कार्की, बेलबारी मेयर सल्लाहकार प्रकाश राई, केराबारी ९ का वडाध्यक्ष गोपाल याख्खा, बेलबारी १ का वडाध्यक्ष मणि मगर, बेलबारी २ का वडाध्यक्ष कृष्ण गुरुङ, देवीझोडा सामुदायिक वनका अध्यक्ष गोबिन्द बस्नेत लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । खेल उद्घाटन हुनुअघि राई र लिम्बू समुदायले साँस्कृतिक साकेला नृत्य तथा केराबारी ९ स्थित मोरन्फ आदर्श बोर्डिङ स्कुलका विद्यार्थीहरुले अन्य साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।
प्रतियोगितामा मोरङ, सुनसरी र झापाका ८ टीम सहभागी छन् । प्रतियोगितामा एपीएफ पकली , लेटाङ फुटबल क्लव, पटनाली फुटबल क्लव (धरान), चुलाचुली फुटबल क्लव (झापा), गोल्डेन स्टार क्लव (दुहबी) , कुसुमे साइनिङ क्लव, रोयल स्र्पोटिङ क्लव (दमक) र भाउन्ने युथ क्लव सहभागी रहेकोे आयोजकले जनाएका छन् ।
आइतबार उद्घाटन खेल एपीएफ पकली र लेटाङ फुटबल क्लबबिच भएको थियो । सो खेलमा एपीएफ पकलीलाइ १-० ले पराजित गर्दै लेटाङ बिजयी भएको छ । मध्यान्तर अघि लेटाङका जर्सी नं ९ का खेलाडी सौगात राइले गोल गरेका थिए । प्रतिस्पधात्मक खेल भएपनि एपीएफले कुनै गोल गर्न नसक्दा सोही गोल नै खेलको निणर्ायक बनेको थियो । सोमबार आयोजक र रोयल स्पोर्टिङ क्लब दुहबीबिच हुने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा मिडिया पार्टनरका रूपमा रेडियो बेतना, संयन्त्र मिडिया, कछुवा दैनिक, उज्यालो प्रदेश, फटाफट न्युज, बेतना दैनिक र कोशी नेपाल मिडिया छन् ।
प्रतियोगिताका लागि केराबारी गाउँपालिका मुख्य सहयोगी, देवीझोडा सामुदायिक वन मुख्य प्रायोजक र सीजी ग्रुप प्रायोजक छन् ।
प्रतियोगिताको फाइनल खेल पौष ६ गते हुनेछ । प्रतियोगितामा प्रथम हुने टीमले ७५ हजार नगदसहित ट्राफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने टीमले ४१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताबाट ४ लाख ५० हजार आम्दानी र ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कुसुमे साइनिङ क्लबले बिगत तीन बर्षदेखि बर्सेनि उधौली पर्वको अबसरमा प्रतियोगिता आयोजना गर्दै आएको छ ।