बेलचौरीमा ल्होसारको अबसरमा नकआउट फुटबल तथा प्रथम मिनी मेला हुँदै

  • ६ पुष २०८१, शनिबार

तमु ल्होसारको अबसरमा मोरङको केराबारी ९ बेलचौरीमा यसपटक पनि बिभिन्न खेलकुद सहित नकआउट फुटबल प्रतियोगिता तथा प्रथम मिनी मेला आयोजना हुने भएको छ ।
करिब चार दशकदेखि आयोजना हुँदै आएको फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै पौष ७ गतेदेखि १६ गतेसम्म अन्य खेलकुदसहित तमु ल्होसार नकआउट फुटबल प्रतियोगिता तथा पौष १० देखि १७ गतेसम्म प्रथम तमु ल्होसार मिनी मेला आयोजना गर्न लागिएको हो ।
तमु बुद्धिष्ट गुम्बा बेलचौरीको आयोजनामा हुन लागेको खेलकुद तथा मिनी मेला कार्यक्रम अन्तरगत पौष ७ गतेदेखि १६ गतेसम्म १० वटा टिमहरुको सहभागितामा नकआउट फुटबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा त्रिवेणी फुटबल क्लब, धनकुटा, लेटाङ फुटबल क्लब, सिद्धार्थ फटबल क्लब गछिया, तालतलैया फुटबल क्लब, इटहरी, सिसौली फुटबल क्लब, बेलबारी, आर आइ फुटबल क्लब, काठमाण्डौं, लालभित्ति फुटबल क्लब, बेलबारी, बिशाल युथ क्लब पथरी, डाँगीहाट फुटबल क्लब, बेलबारी र आयोजक बेलचौरी फुटबल क्लब, बेलचौरीको सहभागिता हुनेछन् ।

नकआउट पुटबलमा प्रथम हुने टोलीले १ लाख १ हजार ११ रुपैयाँ र दोस्रो हुने टोलीले ५० हजार ५ सय ५५ रुपयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने अयोजक संस्थाका सचिव सन्तोष घलेले जानकारी दिए । हरेक खेलमा म्यान अफ द म्याच, प्रतियोगिताका बेष्ट मिडफिल्डर, बेष्ट डिफेण्डर, बेष्ट गोलकिपर, हाइ स्कोरर, र प्रतियोगिका सर्बोत्कृष्ट खेलाडी म्यान अफ सिरिजलाइ पनि पुरस्कारको ब्यबस्था गरिएको घलेले जानकारी दिए ।

तमु ल्होसार नकआउट फुटबल प्रतियोगिताका लागि केराबारी गाउँपालिका मुख्य सहयोगी र केराबारी ९ कै स्वर्गीय बिर्ख बहादुर गुरुङको परिबार मुख्य प्रायोजक र अल साहिद ओभरसिज प्रायोजक छन् । साथै स्थानीय ब्यक्ति तथा संघ संस्था र बिदेशमा रहने नेपालीहरुले पनि प्रतियोगिताका लागि सहयोग गरेको संयोजक धनश्याम गुरुङले जानकारी दिए । प्रतियोगिताका लागि रेडियो बेतना, संयन्त्र मिडिया र कछुवा दैनिक मिडिया पार्टनर छन् ।

आयोजक टीमका खेलाडीहरुलाइ अल साहिद ओभरसिज इटहरुका सञ्चालक टीका गुरुङले १६ सेट जर्सी उपलब्ध गराएका छन् । स्थानीय खेलाडीहरुको संरक्षण र हितका लागि आफुले विगतका वषहरुबाट खेलका लागि विभिन्न सहयोग गर्दै आएको उनको भनाई छ ।

खेलकुद प्रतियोगिता अन्तरगत भेट्रान फुटबल तथा महिला फुटबल प्रतियोगिता, राजादौड, छेलो, डोरी तान, म्युजिकल चेयर र घैलो फुटाउने प्रतियोगिता पनि हुने आयोजक संस्थाको भनाई छ । अयोजक संस्थाका अध्यक्ष धनवीर गुरुङका अनुसार तमु ल्होसारको अबसरमा बेलचौरीमा बषौंदेखि लाग्दै आएको धार्मिक तथा साँस्कृतिक मेला पनि लाग्नेछ । त्यस्तै पौष १० देखि १७ गतेसम्म हुने प्रथम तमु ल्होसार मिनी मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सहभागितामा बिभिन्न सांगितिक तथा साँस्कृतिक कार्यक्रमहरु हुनेछन् । त्यसैगरी दैनिक हाउजी समेत खेलाइनेछ । स्थानीय कला संस्कुति एवम् पर्यटन प्रबर्धन गर्ने मूल उद्देश्यले खेलकुद र मेला तथा मिनी महोत्सव आयोजना गरिएको आयोजक तमु बुद्धिष्ट गुम्बा बेलचौरीका अध्यक्ष गुरुङ बताए ।

मेलामा पिङ, रोटेपिङ जस्ता खेलकुद लगायत कृषिजन्य तथा ब्यापारिक स्टल तथा मौलिक खानाका परिकारहरुको पनि स्टल रहने छन् । खेलकुद तथा मेलामा ३२ देखि ३३ लाख खर्च हुने र नाफा भएमा सो रकमले केराबारी क्षेत्रमा लागू औषध दुब्यसनी बिरुद्ध बिभिन्न कार्यक्रम, खेलमैदान संरक्षण लगायतका सामाजिक काममा खर्च गर्ने आयोजकको तयारी छ । करिब ४ दशक देखि यस किसिमको सांस्कृतिक मेला आयोजना गर्दै आएका केराबारी ९ का तमु समुदायबाट अन्ज समुदायले पनि आफ्नो मैलिक संस्कृतिहरु जोगाउन उत्प्रेरण लिन सके प्रविधिको बढ्दो विकासको छायाँमा पर्नबाट हाम्रो मौलिकता जोगाउन सहयोग पुग्ने देखिन्छ ।