तमु ल्होसार नकआउट : चौथो क्वाटर फाइनलमा डाँगीहाटलाइ हराउँदै पथरी बिजयी

  • १० पुष २०८१, बुधबार

ल्होसारको अबसरमा मोरङको केराबारी ९ बेलचौरीमा जारी तमु ल्होसार नकआउट फुटबल प्रतियोगिताको बुधबार भएको चौथो दिनको क्वाटर फाइनल खेलमा डाँगीहाट फुटबल कलबलाई २-० ले पराजित गर्दै बिशाल युथ क्लब पथरी बिजयी भएको छ ।
पहिलो हापको आठौं मिनेटमा पथरीका जर्सी नम्बर ९ का खेलाडी करन थापाले पथरीको लागि पहिलो गोल गरेका थिए । पहिलो हापको ३३ औं मिनेट पथरीकै जर्सी ११ मिक्सुन दासले पथरीका लागि दोस्रो गोल गर्दै खेललाई २-० को अबस्थामा पुर्याएका थिए । ३५ मिनेटको मध्यान्तरसम्म खेल २-० कै अवस्थामा सिमित रह्यो ।
दोस्रो हापमा डाँगीहाट एकतर्फी हाबी भएपनि दुवै टीमले कुनै गोल गर्न नसक्दा पथरीले २-० ले खेल जित्यो ।
बुधबारको खेलको म्यान अफ द म्याच मिक्सन दास घोषित भए । बिहीबारको क्वाटरफाइनल खेल तालतलैया फुटबल क्लब इटहरी र सिसौली युथ क्लब बेलबारीबिच हुनेछ ।
पौष ७ गतेदेखि १६ गतेसम्मका लागि भइरहेकोे प्रतियोगितामा त्रिवेणी फुटबल क्लब, धनकुटा, लेटाङ फुटबल क्लब, सिद्धार्थ फटबल क्लब गछिया, तालतलैया फुटबल क्लब, इटहरी, सिसौली फुटबल क्लब, बेलबारी, आर आइ फुटबल क्लब, काठमाण्डौं, लालभित्ति फुटबल क्लब, बेलबारी, बिशाल युथ क्लब पथरी, डाँगीहाट फुटबल क्लब, बेलबारी र आयोजक बेलचौरी फुटबल क्लब, बेलचौरीको सहभागी छन् । नकआउट पुटबलमा प्रथम हुने टोलीले १ लाख १ हजार ११ रुपैयाँ र दोस्रो हुने टोलीले ५० हजार ५ सय ५५ रुपयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
तमु ल्होसार नकआउट फुटबल प्रतियोगिताका लागि केराबारी गाउँपालिका मुख्य सहयोगी र केराबारी ९ कै स्वर्गीय बिर्ख बहादुर गुरुङको परिबार मुख्य प्रायोजक र अल साहिद ओभरसिज प्रायोजक छन् । साथै स्थानीय ब्यक्ति तथा संघ संस्था र बिदेशमा रहने नेपालीहरुले पनि प्रतियोगिताका लागि सहयोग गरेका छन् ।
खेलकुद प्रतियोगिता अन्तरगत भेट्रान फुटबल तथा महिला फुटबल प्रतियोगिता, राजादौड, छेलो, डोरी तान, म्युजिकल चेयर र घैलो फुटाउने प्रतियोगिता पनि हुने आयोजकले जनाएका छन् । तमु ल्होसारको अबसरमा बेलचौरीमा बषौंदेखि लाग्दै आएको धार्मिक तथा साँस्कृतिक मेला पनि लाग्नेछ । त्यस्तै बुधबारदेखि १७ गतेसम्म हुने प्रथम तमु ल्होसार मिनी मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सहभागितामा बिभिन्न सांगितिक तथा साँस्कृतिक कार्यक्रमहरु हुनेछन् । त्यसैगरी दैनिक हाउजी समेत खेलाइनेछ । स्थानीय कला संस्कुति एवम् पर्यटन प्रबर्धन गर्ने मूल उद्देश्यले खेलकुद र मेला तथा मिनी महोत्सव आयोजना गरिएको आयोजक तमु बुद्धिष्ट गुम्बा बेलचौरीका अध्यक्ष धनबीर गुरुङले बताए ।
मेलामा पिङ, रोटेपिङ जस्ता खेलकुद लगायत कृषिजन्य तथा ब्यापारिक स्टल तथा मौलिक खानाका परिकारहरुको पनि स्टल रहने छन् । खेलकुद तथा मेलामा ३२ देखि ३३ लाख खर्च हुने र नाफा भएमा सो रकमले केराबारी क्षेत्रमा लागू औषध दुब्यसनी बिरुद्ध बिभिन्न कार्यक्रम, खेलमैदान संरक्षण लगायतका सामाजिक काममा खर्च गर्ने आयोजकको तयारी छ । करिब ४ दशक देखि यस किसिमको सांस्कृतिक मेला लाग्दै आएको छ ।