त्रिवेणी फुटबल क्लब धनकुटाले जित्यो तमु ल्होसार नकआउटको उपाधी

  • १७ पुष २०८१, बुधबार

मोरङको केराबारी ९ बेलचौरीमा आयोजित तमु ल्होसार नकआउटको उपाधी त्रिवेणी फुटबल क्लब, धनकुटाले जितेको छ ।
ल्होसारको अबसरमा भएको नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा लालभित्ती फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै धनकुटाले उपाधी जितेको हो ।
बुधबार भएको फाइनल खेलमा धनकुटाका लागि स्वराज राउतले खेल शुरु भएको आठौं मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो हापमै धनकुटाका खेलाडीले हेण्ड गरेपछि पार्को पेनाल्टीको सदुपयोग गर्दै लालभित्तिका लागि फागुराम थारुले प्रत्युत्तर गोल गरी खेललाई बराबरको अबस्थामा पुर्याएका थिए । ३० मिनेटको मध्यान्तरसम्म बराबरको अबस्थामा रहेको खेलको बत्तीसौं मिनेटमा धनकुटाका स्वराज राउतले दोस्रो गोल गर्दै धनकुटालाई २-१ को अग्रतामा पुर्याएका थिए । तर लालभित्तिले पनि अर्को गोल गरेपछि खेल बराबरको अबस्थामा पुग्यो । अमित बिश्रले धनकुटाका लागि अर्को गोल गरेपछि धनकुटा बिजयतर्फ उन्मुख भएको थियो । त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन नसक्दा धनकुटा उपाधी जित्न सफल भयो । फाइनल खेलमा लालभित्तिका तिर्थ बस्नेत म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगितामा बेष्ट गोलकिपर धनकुटाका मुस्कान लिम्बू, बढी गोल गर्ने लालभित्तिका फागुराम थारु घोषित भए ।
नकआउट पुटबलमा प्रथम हुने धनकुटाले ले १ लाख १ हजार ११ रुपैयाँ र दोस्रो लालभित्तिले ५० हजार ५ सय ५५ रुपयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
फाइनल केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ प्रमुख अतिथि, केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर र केराबारी गाउँपालिकाका पुर्व अध्यक्ष रोहित बहादुर कार्की विशेष अतिथि र केराबारी ९ का वडाध्यक्ष गोलाल याक्खा अतिथी थिए ।
पौष ७ गतेदेखि १६ गतेसम्म भएको प्रतियोगितामा त्रिवेणी फुटबल क्लब, धनकुटा, लेटाङ फुटबल क्लब, सिद्धार्थ फटबल क्लब गछिया, तालतलैया फुटबल क्लब, इटहरी, सिसौली फुटबल क्लब, बेलबारी, आर आइ फुटबल क्लब, काठमाण्डौं, लालभित्ति फुटबल क्लब, बेलबारी, बिशाल युथ क्लब पथरी, डाँगीहाट फुटबल क्लब, बेलबारी र आयोजक बेलचौरी फुटबल क्लब, बेलचौरीको सहभागी थिए ।
तमु ल्होसार नकआउट फुटबल प्रतियोगिताका लागि केराबारी गाउँपालिका मुख्य सहयोगी र केराबारी ९ कै स्वर्गीय बिर्ख बहादुर गुरुङको परिबार मुख्य प्रायोजक र अल साहिद ओभरसिज प्रायोजक थिए ।
खेलकुद प्रतियोगिता अन्तरगत भेट्रान फुटबल तथा महिला फुटबल प्रतियोगिता, राजादौड, छेलो, डोरी तान, म्युजिकल चेयर र घैलो फुटाउने प्रतियोगिता पनि आयोजना गरिएको थियो । आयोजकले जनाएका छन् । तमु ल्होसारको अबसरमा बेलचौरीमा बषौंदेखि लाग्दै आएको धार्मिक तथा साँस्कृतिक मेला पनि लाग्नेछ । त्यस्तै बुधबारदेखि १७ गतेसम्म हुने प्रथम तमु ल्होसार मिनी मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सहभागितामा बिभिन्न सांगितिक तथा साँस्कृतिक कार्यक्रमहरु हुनेछन् । त्यसैगरी दैनिक हाउजी समेत खेलाइनेछ । स्थानीय कला संस्कुति एवम् पर्यटन प्रबर्धन गर्ने मूल उद्देश्यले खेलकुद र मेला तथा मिनी महोत्सव आयोजना गरिएको आयोजक तमु बुद्धिष्ट गुम्बा बेलचौरीका अध्यक्ष धनबीर गुरुङले बताए ।
मेलामा पिङ, रोटेपिङ जस्ता खेलकुद लगायत कृषिजन्य तथा ब्यापारिक स्टल तथा मौलिक खानाका परिकारहरुको पनि स्टल रहने छन् । खेलकुद तथा मेलामा ३२ देखि ३३ लाख खर्च हुने र नाफा भएमा सो रकमले केराबारी क्षेत्रमा लागू औषध दुब्यसनी बिरुद्ध बिभिन्न कार्यक्रम, खेलमैदान संरक्षण लगायतका सामाजिक काममा खर्च गर्ने आयोजकको तयारी छ । करिब ४ दशक देखि यस किसिमको सांस्कृतिक मेला लाग्दै आएको छ ।