विद्यार्थीहरुको सिकाइका लागि फलदायी बन्यो शैक्षिक प्रदर्शनी
- ५ माघ २०८१, शनिबार
बेलबारी नगरपालिकाको आयोजनामा भएको प्रथम विद्यालय तह बृहत् शैक्षिक प्रदर्शनी विद्यार्थीहरुको सिकाइका लागि प्रभावकारी देखिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीहरूद्वारा निर्मित रोबोटबाट उद्घाटन गरेको चार दिने प्रदर्शनी विद्यार्थीहरुको सृजनाको हिसाबले प्रभावकारी देखिएको हो ।
बेलबारी ११ मा रहेको लक्ष्मी खेलमैदानमा माघ ३ देखि ६ गतेसम्म सञ्चालन भैरहेको प्रदर्शनीमा बेलबारीभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको छ । प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका विज्ञान तथा प्रविधिका विभिन्न सामग्रीहरू परम्परागत सामग्रीदेखि हवाई जहाज तथा रोबर्ट आदिले कार्यक्रमको विशेष आकर्षण बनेका छन् ।
कार्यक्रमको दोस्रो दिन शुक्रबार प्रदर्शनीस्थल पुग्दा विद्यार्थीहरुले राखेका स्टलहरु हेर्नेको भिडभाड थियो ।
प्रदर्शनीस्थलमा एक दर्जनभन्दा बढी परम्परागत र पुरातात्त्विक सामग्रीका स्टलहरुमा बाउ बाजेका पालाको झल्को दिने गरेको छ । प्रदर्शनीमा अमर सेकेण्डरी स्कुलका विद्यार्थीहरुले परम्परागत सामग्रीहरु हर्पे, क्यासेट, डोको, तामे गाग्री, लाल्टिन, कुपी, माना, पाथी पेरुङ्गो आदि प्रदर्शनीमा राखेका छन् । त्यसैगरी
गुरुकुल पाठशालाका विद्यार्थीहरुले झ्याम्टा, ढोल, हार्मोनियम,मादल, ओख्ली, मुस्ली, ढिकी, जाँतो, ठेकी, मदानी, पेरुङो, फुङा, सिक्काको माला, डालो, मकैको झुत्ता, डुना, टपरी, घैंटो, रिल क्यामेरा लगायत धान, मकै गहुँ, दाल र तिलबाट बनाएको नेपालको नक्सा प्रदर्शनीमा राखेका छन् ।
त्यस्तै बेलबारी ६ को बिरेन्द्र माविका विद्यार्थीले माछा राख्ने बाँसको खुँगी, ठेकी मदानी, मान्द्रो, हलो, जुवा, सन्थाल भेषभुषा, दमाहा, तुन्दा जस्ता सामग्री प्रदर्शनीमा राखेका छन् ।
प्रदर्शनीमा मोरङ ज्ञानोदयका विद्यार्थीले कपडा बुन्ने चर्खा,, हुलाक टिकट, पुस्तक, गरहहना, ढीकी तथा धिमाल भेषभुषा जस्ता सामग्री प्रदर्शन गरेका छन् ।
लक्ष्मी माविका विद्यार्थीले ढोल, झ्याम्टा, लाखे पहिरनदेखि हलो जुवा, हर्पे, ठुन्से, माना पाथी, ढिकी जाँतो, कोक्रो, धनुष काँड, रोटेपिङ आदि प्रदर्शन गरेका छन् ।
त्यसैगरी बेलबारी ८ को सिंहदेवी एकेडेमीका विद्यार्थीले प्रदर्शनीमा धिमाल बस्ती, चौधरी बस्ती, लिम्बु बस्ती, मगर बस्ती र राजबंशी बस्ती तथा रहनसहन, चुलो, पिरा, डोको , हलो, ठेकी जस्ता कुराहरू राखेका छन् ।
बेलबारी १० मा अबस्थित महेन्द्र मावि, परम्परागत घरायसी सामग्री तथा बिविध श्रोतबाट संकलित सामग्री तथा घण्टाघर, मन्दिर , ग्लोब, एवम् गमलामा रोपिएका विभिन्न जातका बिरुवा आदि प्रदर्शन गरेका छन् ।
त्यस्तै बेलबारी २ को शिक्षा सन्देश इङ्लिस स्कुलका विद्यार्थीहरुले धरहरादेखि आधुनिक भवन, मन्दिर, परम्परागत घर मात्रै होइन, परम्परागत सामग्री राखेका छन् ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले विज्ञान र प्रविधिको युगमा किताबी ज्ञानले मात्र पूर्ण नहुने बताउँदै नगरपालिकाले यस्तो कार्यक्रमको आयोजना गरेको बताए ।
प्रदर्शनीमा विद्यार्थीले तयार गरेका कलात्मक आकृति, पेण्टिङ, हस्तकला सामग्री मात्रै होइन गणितसँग सम्बन्धित स्टलहरु पनि राखिएका छन् ।
प्रदर्शनीमा विभिन्न स्कुलका विद्यार्थीहरुले पहाड पर्वतका आकृति, सोलार पावर प्लाण्ट, भुकम्प प्रतिरोधात्मक संरचना, पाचन प्रणाली, इलेक्ट्रोनिक गाडी कुलो पैनीको फोहोर सफा गर्ने मेसिन आदि प्रदर्शनीमा राखेका छन् ।
प्रदर्शनीको उद्घाटनकै दिन गुरुकुल स्कुलका विद्यार्थीहरुले हवाई जहाज उडाएर सबैलाई चकित पारेका थिए । त्यसैगरी बेलबारी १० स्थित लक्ष्मी माविका विद्यार्थीले बनाएको ३ जना बसेर सवारी गर्न मिल्ने बग्गी बनाएर प्रदर्शनीस्थलमा इच्छुक ब्यक्तिहरुलाइ घुमाउने गरेका छन् ।
प्रदर्शनीमा चित्रकला तथा मुर्तिकला प्रदर्शनी,बौद्ध गुम्बासँग सम्बन्धित सामग्री, कविता कर्नर, भाषा तथा साहित्य प्रदर्शनी जस्ता स्टलहरु पनि छन् ।
प्रदर्शनीस्थलको पश्चिमतर्फ विभिन्न स्कुलका विद्यार्थीले खानेकुराका स्टलहरु पनि राखेका छन् । जसमा भुटेको मकै, सेलरोटी,फुरौला, भुजाको डल्ला, पकौडा, आलु परौठा, फ्राइ राइस, चटपटे लगायतका खानेकुराहरु बिक्री गर्ने गरिएको छ ।



