बेलबारीमा जैविक बिविधताको संरक्षणका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना बारे अन्तरक्रिया
- १३ माघ २०८१, आईतवार
बेलबारी । जैविक बिविधताको संरक्षणका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना पुनरावलोकन सम्बन्धी परामर्श तथा छलफल कार्यक्रम बेलबारीमा सम्पन्न भएको छ ।
आइतबार सामुदायिक वन, सामुदायिक वन उपभोक्ता महासंघ, आदिवासी जनजाति महासंघ आदि संघ संस्थाका प्रतिनिधि एवम् कर्मचारीहरुको समेत सहभागितामा बेलबारी नगरपालिकाको हलमा कार्यक्रम सम्पन्न भएको हो । बेलबारी नगरपालिकाको आयोजना र कोशी प्रदेशका लागि कार्यक्रम संयोजन गर्दै आएको संस्था आदिवासी जनजाति महासंघको संयोजनमा भएको कार्यक्रममा जैविक बिविधता र त्यसको महत्त्व, जैविक विविधताको दिगो ब्यबस्थापन, जैविक विविधता महासन्धि, प्रकृति ब्यबस्थापन, प्राकृतिक स्रोतहरुको बाँडफाँड र प्रभावकारी ब्यबस्थापन जस्ता बिषयमा छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघ (नेफिन) का कोषाध्यक्ष बिमल सारुले सहजीकरण गरेका थिए भने आदिवासी जनजाति महासंघका महासचिव दिवस राइले जैविक विविधताबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागीहरुलाइ तीन समुहमा बिभाजन गरी जैविक बिबिधता सम्बन्धि समस्या र समाधानका उपायहरुबारे लिखित सुझाव लिइएको थियो ।
कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राइले बेलबारी नगर क्षेत्रमा पनि जैविक विविधता नष्ट हुँदै गएको बताए । नगरपालिकाले विभिन्न ५० स्थानहरुको माटो परिक्षण गर्दा ५ स्थानको माटो मात्र राम्रो रहेको र ४५ स्थानको माटो जैविक हिसाबले खराब रहेकोे रिपोर्ट आएको बताए । वनमा हुने सडे गलेका काठका धोद्राहरु समेत नरहँदा बन्यजन्तुहरुको बासस्थानमा समस्या हुँदै गएको उनले बताए । वन र प्राकृतिक सम्पदा बिनास भइरहे पनि स्थानीय सरकारको साधन स्रोतले मात्रै समस्या समाधान गर्न सक्ने अबस्था नरहेको मेयर राइले बताए ।
नेपाल सरकारले जैविक विविधता संरक्षणका लागि कानुन निर्माण गर्ने तयारी गरिरहेकोले सुझावका लागि देशका ४९ स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएको छ । सोही क्रममा आइतबार बेलबारी नगरपालिकामा कार्यक्रम भएको हो ।









