उपमेयरले मागेको हिसाब लेखा अधिकृतले नदिएपछि बेलबारी नगरपालिकामा बबण्डर
- १२ असार २०८२, बिहीबार
बेलबारी नगरपालिकामा बजेट सार्वजनिक भए लगत्तै छताछुल्ल भएको उपप्रमुख नितु थापा (कोइराला) र लेखा प्रमुख धनमाया राई बिचको टकराबका कारण बबण्डर मच्चिएको छ ।
उपप्रमुख थापाले नगरपालिकाले विभिन्न शीर्षकहरूमा खर्च गरिरहेको रकम तथा केही कर्मचारीले पाउँदै आएको भत्ताको विवरण माग गर्दा लेखा अधिकृतले दिन नमानेको बिषयले नगरपालिकामा उग्रता मच्चिएको हो । आफू अनुगमन समितिको संयोजक समेत रहेकोले नगरको हिसाब किताब हेर्न पाउनु आफ्नो अधिकार भएको तर लेखा प्रमुख राईले गोपनीयता भङ्ग हुने भन्दै विवरण देखाउन अस्वीकार गरेको समाचार बाहिरिएपछि बुधबार ६ बुँदे मागपत्र लिएर विभिन्न दलका प्रतिनिधिहरुसहित स्थानीय युवाहरू नगरपालिका पुगेका थिए । तर नगरपालिका पुगेका केही ब्यक्तिहरुलाई नगरप्रहरीले प्रवेश गर्न नै नदिन खोजेपछि युवाहरू आक्रोशित भएका थिए । शुरुमा प्रमुख प्रसाशकीय अधिकृतको कार्यकक्षमा पुगेका मानिसहरुले त्यहाँ करिब एक घण्टा छलफल गरेपनि प्रमुख प्रसाशकीय अधिकृतले आफू भर्खरै आएको भन्दै तर्किएपछि युवाहरूले लेखा शाखामा तालाबन्दी गरेका थिए । तालाबन्दी हुँदै गर्दा नगरपालिकाका मेयर दिलप्रसाद राईले त्यहीँ आएर किन मलाई जानकारी नदिई किन ताला लगाएको भन्दै प्रतिकार गरेका थिए । त्यसपछि नगरप्रमुखको कार्यकक्षमा छलफलका क्रममा पनि मेयर र अन्य एक दुईजना मानिसहरुसँग चर्काचर्की परेको थियो । मेयर राइले छलफलको लाइभ गरिरहेका सञ्चारकर्मीलाइ पनि मेरो आदेशबिना किन लाइभ गरेको भन्दै हप्कीदप्की गरेका थिए ।
यसअघि उपप्रमुख थापाले लेखा प्रमुखले मागबमोजिमको खर्च विवरण नदिई केवल छुटिएको बजेटको सूची मात्र पठाएको बताउँदै, “उपप्रमुखले नै हिसाब माग्दा हेर्न नमिल्ने भन्ने कस्तो नियम हो ” भन्दै सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेकी थिइन् । केही शीर्षकमा अस्वाभाविक खर्च देखिएको गुनासो आएपछि विवरण माग गरिएको उपमेयरले बताएकी थिइन् ।
उता लेखा प्रमुख राईले नगरपालिकाको मासिक हिसाब नियमित रूपमा सार्वजनिक गरिने बताउँदै, “गोप्य विवरणहरू आन्तरिक लेखा परीक्षक वा महालेखा परीक्षकको पत्रमार्फत मात्र हेर्न मिल्ने भन्दै उपप्रमुखको माग व्यक्तिगत रूपमा प्राप्त भएकाले विवरण नदिएको तर प्रमुख प्रशासकीय अधिकृतको निर्देशन भएमा विवरण उपलब्ध गराउन सकिने बतएकी थिइन् ।
:
:









