उर्लाबारीमा तम्तयार भो मदन भण्डारी संग्रहालय, राष्ट्पतिबाट उद्घाटन गराइने

  • ६ भाद्र २०७५, बुधबार

पथरी/ जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको राजनीतिक, सामाजिक र पारिवारिक गतिविधि समेटेर मोरङको उर्लाबारी ३ मंगलवारेमा मदन भण्डारी संग्रहालयको निर्माण सम्पन्न भएको छ ।

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको हाताभित्र प्रतिष्ठानद्धारा निर्मित संग्रहालयको एक समारोहबीच मदनकी धर्मपत्नी अर्थात राष्ट्पति विद्यादेवी भण्डारीले उद्घाटन् गर्नुहुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
प्रतिष्ठानको १७ औं चुनावी साधारणसभाको अवसर पारेर चैत १६ गते संग्रहालयको उद्घाटन् हुने प्रतिष्ठान अध्यक्ष गुरुप्रसाद वरालले जनाउनु भयो । साथै उहाँले मदनको विचारलाई चरितार्थ पार्न प्रतिष्ठानले पैसा नभएर पढ्न नपाउने विद्यार्थीहरुको समस्या अन्त्य गर्नका लागि मानव संसाधन वैंकको अवधारणा ल्याइएको पनि प्रष्ट्याउनु भयो ।
वरालले सरकारी तथा प्रतिष्ठानको गरी ३ करोडमा लगानीमा १० वर्षको अवधिमा निर्माण सम्पन्न संग्रहालयले मदन भण्डारीको महत्व र योगदानलाई झल्काएको वताउनु भयो ।
पुरातत्व विभागका महानिर्देशक भेषराज दहालले व्यक्ति विशेषको वायोग्राफिक म्यूजियम पूर्वको नयाँ संग्रहालय भएको दर्शाउनु भएको छ ।
२ विगाहा क्षेत्रफलमा अवस्थित संग्रहालयमा ३ तलामा गरी १६ वटा कक्ष रहेका छन् ।
मदन दासढुंगामा दुर्घटनामा परेको जीप सहित जन्मथलो ताप्लेजुङको ढुंगेसाँघु, कर्मथलो मोरङको इटहराका साथै राजनीतिक जीवनका महत्वका सामग्री, मन्तव्य, प्रकाशित सामग्री लगायतका वस्तुहरु संग्रहालयमा राखिएका छन् ।