यस्ता छन् बेलबारीका जनप्रतिनिधिले पहिलो एक बर्षभित्र गरेका काम
- २२ जेष्ठ २०७५, मंगलवार
अम्बिका भण्डारी / बेलबारी नगरपालिकाले डेढ दर्जन कानुन कार्यबिधिहरु पारित गरेको छ ।
स्थानीय सरकारको रूपमा जनप्रतिनिधि आएपछि ती कार्यबिधि पारित भएका हुन् । नगरपालिकाले पारित गरेका कार्यबिधिहरुमा आर्थिक कार्यबिधी कानुन २०७४, कार्यबिभाजन नियमावली २०७४, कार्यसम्पादन नियमावली २०७४, प्रमाणीकरण नियमावली २०७४, पदाधिकारीहरुको आचारसंहिता २०७४, खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधी २०७४, टोल बिकास संस्था कार्यबिधी २०७४, नगरपालिका बैठक संचालन कार्यबिधी २०७४, नगरसभा संचालन कार्यबिधी २०७४, मर्मत संभार कोष संचालन कार्यबिधी २०७४, बिपद ब्यबस्थापन कोष संचालन कार्यबिधी २०७४, शैक्षिक ब्यबस्थापन कार्यबिधी २०७४, सामुदायिक बिकास अभियान संचालन कार्यबिधी २०७४, बजार अनुगमन कार्यबिधी २०७४ र बिपद जोखिम ब्यबस्थापन कार्यबिधी २०७४ लगायत छन् ।
विद्युतीय हाजिरी लागू हुँदै
नगरपालिकाले चालू आबको अबधिमा सामुदायिक विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरु र नगरपालिका समेत गरी ४८ वटा सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरी मेसिन जडान गरेको छ । त्यसैगरी १२ वटा बोर्डिङ र एउटा सामुदायिक विद्यालयलाइ कक्षा थपको अनुमति दिएको छ । त्यसैगरी आधा दर्जनभन्दा बढी स्कुलहरुलाइ अनुमती नलिइ चलाइएका कक्षा बन्द गर्न पत्राचार गरेपनि अटेर गर्दै आएका छन् ।
५७ जनाले पाए २५ हजारवाला सहयोग : नगरपालिकाले गम्भीर प्रकृतिका पाँचवटा रोग लागेका बिरामीलाई २५ हजारका दरले सहयोग गर्ने निर्णय गरेको थियोे । सोही अनुसार बिगत केही महिनाको अबधिमा ५७ जना बिरामीले सो सहयोग पाइसकेको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी बेलबारी नगर क्षेत्रमा १० जना कुष्ठरोगी फेला परेको र तीनीहरुको उपचार भइरहेको नगरपालिकाले जानकारी दिएको छ ।
टोल बिकास समिति गठन : बिकास निर्माणका कामलाई प्रभावकारी बनाउन नगरपालिकाले प्रत्येक वडामा १५ वटाको दरले टोल समितिहरु गठन गरी दर्ता समेत गर्ने काम तीब्र पारेको छ । हालसम्म नगरक्षेत्रभित्र ६ दर्जनभन्दा बढी टोल बिकास समिति नगरपालिकामा दर्ता भइसकेको र अन्य टोल बिकास समितिहरु पनि गठन र दर्ताको क्रम तीब्र पारिएको नगरपालिकाले जनाएको छ ।
आन्तरिक स्रोतबाट उठ्यो झण्डै २ करोड राजस्व
यस नगरपालिकाले गत बर्ष पुसमा मात्रै नगरसभा गरेको थियोे । तर ढिलो नगरसभा भएपनि चालू आर्थिक बर्षका ९० प्रतिशतभन्दा बढी योजना सम्पन्न भइसकेको प्रबक्ता सुवेदीले बताए ।
नगरपालिकाले चालू आबमा आन्तरिक स्रोतबाट १ करोड ९८ लाख ६४ हजार ४ सय २५ रुपैयाँ राजस्व असुली गरिसकेको गत हप्ता आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नगरसभाको तयारी
बेलबारी नगरपालिकाले दोस्रो नगरसभा यही असार ७ गते गर्ने भएको छ ।
नगरकार्यपालिकको निर्णय बमोजिम असार ७ गते नगरसभा गर्ने तयारी तीब्र पारिएको नगरपालिकाले जनाएको छ । बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीका अनुसार वडागत बजेटको विवरण सुचकका आधारमा बजेट बनाउने काम भइरहेको छ ।