गाउँमै पानी बेचेर लाखौंं आम्दानी गर्दै पाँचथरको एक गाउँपालिका

  • २७ मंसिर २०७५, बिहीबार

पाँचथरको कुम्मायक गाउँपालिकाले अढाई महिनामै पानी बेचेर ४ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ ।
पानीको चर्को समस्या रहेको वडाबासीलाई गत असोज ८ देखि हालसम्म ६ लाख ६८ हजार लिटर पानी बेचेर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । यसवर्ष सुख्खापना छिट्टै सुरु भएपछि गाउँपालिकाले वडाबासीलाई ६० पैसाका दरले प्रतिलिटर पानी रसिद कटाएर असोजदेखि नै घरघरमा उपलव्ध गराउँदै आएको छ ।
गाउँपालिकाको आन्तरिक आम्दानीको श्रोतको रुपमा कृषि उपज, वन पैदावर र करपछि पानी देखिएको छ। तर गाउँपालिकाले भने पानी वितरण गरेर भएको आम्दानीले डिजेलको मूल्य तिर्न, ट्याङ्कर र ट्रयाक्टर मर्मत गर्नसँगै चालकलाई तलब दिन पुग नपुग हुने गरेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद भट्टराईले अब अल्पकालीन रुपमा भाडा तिर्ने गरी अर्को एउटा ट्याक्टर लिने सोचमा रहेको बताए ।
अघिल्लो वर्षभन्दा पनि यसवर्ष पानीको मुहान थुप्रै सुकेकाले गाउँपालिकाको कार्यालयमा पानीको माग गर्दै रसिद कटाउनेहरुको भीड बढेकोले ट्याक्टर भाडामै भएपनि लिन आवश्यक देखिएको बताए । गाउँपालिकामा एकैदिन १ लाख ५० हजार लिटरसम्म पानीको माग आउने गरेको जनाएको छ । तर गाउँपालिकालाई वडाबासीको पानीको माग धान्न मुस्किल पर्दै आएको छ । गाउँपालिकाले प्रति दिन २० हजार लिटरसम्म पानी वडाबासीलाई उपलव्ध गराउँदै आएको छ ।