वडाध्यक्षको पहलमा केराबारी गाउँपालिका ८ की एक वृद्धाले पाइन् नयां घर

  • २४ पुष २०७५, मंगलवार

केराबारी ८ का वडाध्यक्ष मनोज खड्काको पहलमा एक वृद्धाले नयां घर पाएका छन् ।

झुप्रे घरमा एक्लो जीवन बिताउँदै आएकी ८५ वर्षिया केराबारी ८ की सुनसरी राईले नयां घर पाएकी हुन् । खासगरी पौष माघको कठयाग्रिदो जाडो र बर्षा याममा राम्रोसंग ओत लाग्ने घर नहुंदा राइले कष्ठकर पूर्ण जीवन बिताउंदै आएकी थिइन् । उनको दयनीय अवस्था देखेर वडाध्यक्ष खड्काले स्थानीय जनताको सहभागितामा नयाँ घर बनाइदिएका छन् भने उनलाई  केही समय पुग्ने खाद्यान्नको प्रबन्ध समेत मिलाइदिएका छन् ।

वर्षौदेखि वृद्धवृद्धा दम्पति वासको चिम र टाटीले बारेको पुरानो घरमा वस्दै आएको भएपनि केही वर्ष अघि श्रीमानको मृत्युपछि  सुनसरी एक्लै वस्दै आएकी थिइन् ।

वर्षौदेखि एकल जीवन बिताउँदै आएकी राईको बस्ने र ओत लाग्ने नयाँ घर बनेपछि उनलाई स्थानीयबासीहरुले आइतबार एक कार्यक्रम गरी नयाँ घर हस्तान्तरण गरिदिएका छन् । वडाध्यक्ष मनोज खड्काको सक्रियतामा वडा कार्यालय र हजारविघा सामुदायिक वन समुहले निर्माण गरिदिएको छ ।
राइको घर निर्माणका लागि समाजसेवी दिव्या वस्नेतले जग्गा उपलब्ध गराईदिएकी छिन्  ।  राइलाई बाचुञ्जेल बस्न दिने गरी जग्गा उपलब्ध गराईदिएको जग्गाधनी दिव्या वस्नेतले बताइन् ।

वडा कार्यालय र हजार विघा वनसमुहले १ लाख १२ हजार रुपैयां उपलब्ध गराएका थिए । घर निर्माणका लागि स्थानीय समाजसेवी मिनप्रकास आचार्यले आवश्यक निर्माण सामग्री ढुवानी तथा नेपाल तरुणदलका केराबारी गाउपालिका सभापति पप्पु साहले खाद्यान्न उपलब्ध गराइ सहयोग गरेका थिए ।