स्कुलको ८ कट्ठा जग्गामा बस्ती नै बसिसक्दा समेत मुकदर्शक बन्यो भगवती स्कुल

  • २७ पुष २०७५, शुक्रबार

मोरङको बेलबारी नगरपालिका ३ मा रहेको भगवती माध्यमिक बिद्यालयको ८ कठठा जग्गा अतिक्रम गरी बस्ती निर्माण गरिंदा समेत विद्यालय प्रसासन मुकदर्शक बनेको छ ।

विद्यालयको लागि न खेल मैदान बनाइएको छ, न त अन्य प्रयोजनका लागि आवश्यक पर्ने जग्गा नै उपयोगमा ल्याइएको छ । तर भएका जग्गा संरक्षण वा प्रयोगबारे विद्यालय प्रशासनले वास्ता गरेको छैन ।

प्रयोगमा  पशु बजार लाईनमा रहेको सो जग्गा सोमबारे हटियाका लागि प्रयोग हुँदै आएको भएपनि पछिल्लो समय सो स्थानमा बस्ती  निर्माण भएको छ । बिद्यालयको जग्गा कति छ भन्ने बिषयमा बिद्यालय प्रशासन नै अनभिज्ञ रहेको छ । केही समय अघि बिद्यालयलाई जग्गा दिने दाताहरुको बिद्यालयमा रेकर्ड नै नराखिएको भन्दै जग्गगा दाताले बिरोध गरेका थिए ।

बिद्यालयका दाताहरु को हुन् भन्ने बिषयमा बिद्यालयले सामान्य सोधीखोजी  गरेपनि कुन दाताले कति जग्गा दिएको हो र त्यो जग्गा कहाँ छ भन्ने बिषयमा भने बिद्यालय प्रशासन अन्यौलमै छ ।

बिद्यालयकै नाममा रहेको ८ कठठा जग्गा यतिबेला अतिक्रमण भई घरटहरा समेत निर्माण भईसक्दा समेत घर टहरा कसले  अनुमति दिएर बनाइयो वा बिना अनुमती बनाइयो भन्ने बिषयमा बिद्यालय प्रशासन, वडा कार्यलय र नगरपालिका समेत अन्यौलमा छन्  ।

पशु बजारमा भैसी पाल्न र सामान्य गोठ निर्माणका लागि शूरुमा मौखिक रूपमा सो जग्गा उपलब्ध गराएको भएपनि बस्ती नै निर्माण हुँदा समेत सम्बन्धित पक्ष मौन बस्नुमा कोही जिम्मेवार ब्यत्तिकै हात रहेको बिद्यालयका जग्गा दाता तथा नेकपाका जिल्ला सदस्य प्रतापकुमार थापा बताउँछन् । बिद्यालयको जग्गा मिचिँदा र बस्ती नै निर्माण हुँदा समेत बिद्यालय प्रशासन र ब्यबस्थापन समिति मौन बस्नु रहस्यमय रहेको उनी बताउँछन ।

स्थानीय भगवती टोल बिकास संस्थाका अध्यक्ष हेमसागर ढकाल बिद्यालयको जग्गामा टहरा निर्माण गरिनु गलत भएको बताउँछन् । उनले टहरा हटाएर बिद्यालयको जग्गा खाली गर्न र बिद्यालयले नै उपयोग गर्नुपर्ने बताए ।

त्यसो भगवती स्कुल प्रशासनलाई  निकै पहिलेदेखि नै त स्कुलका लागि आवश्यक भौतिक पुर्वाधार बनाउनभन्दा ब्यापारिक सटरहरु बनाउन बढी केन्द्रित भएको आरोप लाग्दै आएको छ । बेलबारी क्याम्पसको भवन बनिनसकेकोले क्याम्पसको पढाई समेत भगवती स्कुलमा नै हुँदै आएको छ । क्याम्पसका कारण विद्यालयलाई असहज भएको र पर्याप्त कक्षाकोठा नभएको भन्दै  स्कुल प्रसासनले क्याम्पसलाई तुरुन्त अर्को ब्यबस्था गर्न दवाब दिने गरेको छ । तर गत बर्ष विद्यालय परिसरको पुर्वपट्टी भवन निर्माण गर्दा समेत स्कुलको लागि समेत प्रयोगमा आउने कक्षाकोठा बनाउनुको सट्टा ब्यापारिक भवन मात्रै बनाइएको थियो ।

केही समयअघि विद्यालयका एक दुई कर्मचारीको इसारामा स्कुलको उत्तरपट्टी पुर्व पश्चिम राजमार्गको अधिकार क्षेत्रभित्र करिब १० लाख खर्चेर  ब्यापारिक टहरा बनाउन थालिएको थियो । तर चर्को बिरोध र नगरपालिकाको चेतावनीपछि आधासरो भन्दा बढी काम भइसकेको अबस्थामा ती सटर भत्काइएको थियो ।  पुर्व बस स्टेसन नजिकै राजमार्गमा जोडिएको जग्गामा टहरा बनाएर विद्यालयले ठेकेदार मार्फत भाडामा लगाएर पनि आम्दानी गर्दै आएको छ । (नरेन्द्र बस्नेतको सहयोगमा अम्बिका भण्डारी)