रहेनन् वरिष्ठ साहित्यकार तथा भाषाविद बालकृष्ण पोखरेल, उपचारको क्रममा मृत्यु

  • १२ फाल्गुन २०७५, आईतवार

वरिष्ठ साहित्यकार, भाषाविद एवम् प्राध्यापक बालकृष्ण पोखरेलको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा  निधन भएको छ ।

८६ बर्षीय पोखरेलको आइतबार बिहान साढे १ वजे नोवेल अस्पतालमा निधन भएको हो । लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहनु भएका प्राध्यापक पोखरेललाई भारतको सिक्किममा एक महिनाअघि मस्तिष्कघात भएको थियो । सिक्किम स्थित गान्टोकमा छोरीको घर गएको बेला मस्तिष्कघात भएपछि गान्टोकबाट काठमाण्डौंस्थित  नर्भीक अस्पतालमा पुर्याई उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि विराटनगरस्थित घरमै आराम गरिरहेका उहाँको स्वास्थ्य विग्रीएपछि फेरि अस्पताल भर्ना गरिएको थियो ।

वि.स. १९९० मा मकवानपुरको चिसापानीगढीमा जन्मेका पोख्रेल नेपाली साहित्यमा रूपावासी, वसन्त, वत्सल, ईसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिलो, हिमालपाने बराल आदि उपनामबाट पनि चिनिनुहुन्थ्यो ।  कलकत्ता विश्वविद्यालयबाट ऐतिहासिक भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरेका पोख्रेल २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न रहनु भएको थियो ।

२०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ क्याम्पसमा र स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गरेका पोखरेलले २०४६ मा अवकास लिनुभएको थियो ।  २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य समेत हुनु भएका पोख्रेलले सोही समयमा बृहत् नेपाली शब्दकोशको सम्पादनमा गहनतम योगदान पुर्याउनु भएको थियो । पोखरेलका धेरै भाषिक तथा साहित्यिक संस्थाहरूमा आबद्ध हुनुहुन्थ्यो । प्राध्यापक पोखरेलका ३ दर्जनबढी कृतिहरु प्रकाशित छन् ।

वहाँले नेपाली भाषा र साहित्य नामक ग्रन्थका लागि गद्य विधामा २०२१ सालमा मदन पुरस्कार समेत  प्राप्त गर्नु भएको थियो । यसबाहेक प्रतिभा पुरस्कार, गोपाल पाण्डे असीम पुरस्कार, झपट पुरस्कार (२०५५), उदयानन्द पुरस्कार (२०५६), पृथ्वी प्रज्ञा पुरस्कार आदिबाट सम्मानित हुनु भएको थियो । पोखरेलका १ छोरा र २ छोरी छन् । पोखरेलकी श्रीमतीको ४ बर्ष अघि नै निधन भएको थियो । उहाँको अन्तष्टी आइतबार बिराटनगरस्थित  परोपकारघाटमा गरिने पारिवारीक श्रोतले जनाएको छ ।