प्रहरी हस्तक्षेपको विरोधमा बन्द भए धनकुटाका सामुदायिक स्कुलहरु

  • २१ फाल्गुन २०७५, मंगलवार

धनकुटा । राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा मंगलबार बिहानैदेखि धनकुटाका सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गरेका छन।

राहत तथा बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुले स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै उनीहरूले सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। सोही विरोधमा उनीहरूले पठनपाठन बन्द गर्ने घोषणा गरेका हुन। प्रदर्शनमा प्रहरीले निषेधित क्षेत्र तोड्न लागेपछि हस्तक्षेप गरेको थियो।

गत असोज २२ गते आफूहरूको सबै माग पूरा गर्ने सम्झौता सरकारले अझै कार्यान्वयनमा नल्याएपछि आफूहरू आन्दोलनमा गर्न बाध्य हुनु परेको नेपाल राहत शिक्षक संघ, प्रदेश १ कार्यसमतीका उप महासचिब ईश्वरी प्रसाद सुवेदीले बताए। उनले संघीय शिक्षक ऐनमा आफूहरूलाई स्वतः स्थायी हुने व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए।

बन्दका कारण मंगलबार बिहानैदेखि धनकुटाका सामुदायिक विद्यालय पूर्णरुपमा बन्द भएका छन। बन्द सफल बनाउन जिल्लामा रहेका सबै सामुदायिक विद्यालय, सबै शिक्षक संघ संगठनलाई पत्राचार गरिएको नेपाल राहत शिक्षक संघ, धनकुटा जिल्ला कार्यसमितीका सचिब विश्व भण्डारीले बताए। धनकुटा जिल्लामा हाल ५ सयको हाराहारीमा राहत तथा २ सयको हारहारीमा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरू रहेका छन।