नौ दिनदेखि हराएकी रमिलाबारे सर्वत्र चासो, रहस्य खोतल्न नयाँ रणनीति अपनाउँदै प्रहरी
- २५ फाल्गुन २०७५, शनिबार
गत फागुन १७ गते शुक्रबारबाट वेपत्ता रहेकी बेलबारी ४ की रमिला राईको अवस्था के होला भन्ने चौतर्फी चासो बढिरहँदा प्रहरीले शैली फेरेरै उनको खोजी तिब्र पारेको छ । घटनामा संलग्न रहेको आसंकामा योगेन्द्र गुरुङ पक्राउ परेसँगै प्रहरीको खोजतलासको शैली पनि फेरिएको हो ।
पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय बेलबारीमा नल्याई प्रहरीले जिल्ला प्रहरी कार्यालय नै लगेको बताइएको छ । इप्रका बेलबारीका प्रहरी निरीक्षक रामकुमार राई सहित जिल्लाको समेत विशेष टोलीले घटनामानै ध्यान एकत्रित गरेर खटिएकाले अब चाँडै नै घटनाबारे तथ्य वाहिर आउने प्रहरी स्रोतको दावी छ । प्रहरीको टोलीले मोरङ तथा सुनसरीको सप्तकोसी आसपास र केही भागमा महिलाको खोजी केन्द्रित गरेको छ ।
रमिलाको अवस्थाबारे अनेकौं अड्कलबाजी
रमिला कहिले भेटिन्छिन् र कस्तो अवस्थामा भेटिन्छिन् भन्नेबारेमा अनेकौं अड्कलबाजीहरु भैरहेका छन् । तर,अब धेरैजसोका अनुमान र अड्कल भने निराशाजनक नै सुन्ने गरिएको छ । प्रहरी स्रोतको निष्कर्ष पनि करिब यस्तै बुझिन्छ । प्रहरीको खोजीशैलीले पनि यस्तै संकेत गरेको छ । केही दिन अघि रमिलाको खोजी गर्ने क्रममा प्रहरी र गाउँले समेत मिलेर जंगल र खोला आसपास खोजी गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीले विशेष टोली नै खटाएर गाउँलेसँग समन्वय गरेर बेतना र आसपासको जंगल क्षेत्रमा बुधबार खोजी गरेको थियो । यस्तै विहिबार गछिया र गोठगाउँ आसपासका खोला किनार र जंगलमा गाउँले र प्रहरीको संयुृक्त टोलीले खोजतलास गरेको थियो ।
खबर आउने आशामा प्रहरी कार्यालयमै दिन विताउँदै रमिलाका आफन्त
यता रमिलाका आफन्त र छरछिमेकीहरु भने केही अवस्था पत्ता लाग्ला कि भन्ने आसा बोकेर शनिबार दिनभर जसो नै इलाका प्रहरी कार्यालय बेलबारीमै बसे । रमिलाका परिवारका सदस्य र छिमेकीहरुले केही सुचना आउँछ की भनेर कुरिरहेको भएपनि प्रहरी इन्स्पेक्टर सहितको टोली सँग आफुहरुको नै सम्पर्क हुन नसकेको कार्यालयमा रहेका प्रहरीहरुले बताए ।
रमिला वेपत्ता भएको ९ दिन वितिसक्दा पनि अवस्थाबारे थाहापत्तो नलाग्दा परिवारका सदस्यमात्रै हैन छरछिमेकी समेत स्तब्ध बनेका छन् । रमिलाको अवस्थाबारे केही जानकारी पाइन्छ की भन्ने पर्खाइमै उनीहरुको समय वित्ने गरेको छ । भरपर्दो जानकारी नआउँदा उनीहरु निरास छन् ।
रमिला वेपत्ता घटनापश्चात प्रहरीले योगन्द्रको गुरुङको घरमा २ पटक खानतलासी लिइसकेको छ । योेगेन्द्रले रमिलालाई चढाएर लगेको भनिएको बा १५ च ७९१६ नम्बरको गाडी प्रहरीकै नियन्त्रणमा रहेको छ । – निरन्तर खबर
र यो पनि ….
– फागुन १७ देखि कहाँ बेपत्ता भइन् बेलबारीकी यी महिला ? अनि किन पक्राउ परे योगेन्द्र ?
– आठ नौ दिनदेखि बेलबारीकी एक महिला बेपत्ता, बेपत्ता पारेको आशंकामा गुरुङ पक्राउ