सिंहदेवी सामुदायिक वनको नयाँ समिति गठन, चुनावी प्रतिस्पर्धाबाट लालबहादुर बने अध्यक्ष

  • २३ चैत्र २०७५, शनिबार

मोरङ केराबारी ९ देवीझोडास्थित सिंहदेवी सामुदायिक वनले १५ औ साधारण सभा अन्तरगत चुनावी प्रतिस्पर्धाबाट लाल बहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
केराबारी ९ स्थित बुद्ध माध्यमिक स्कुलको प्राङ्गणमा शनिबार भएको चुनावमा निवर्तमान अध्यक्ष भिम कार्कीलाई ६९ मत अन्तरले पराजित गर्दै लालबहादुर बिजयी भएका हुन् । कुल ३ सय ६४ मतदाता मध्ये ३ सय २० मत खसेकोमा सोही वनकै पुर्व अध्यक्ष समेत रहेका लालबहादुरले १ सय ८९ मत पाएका थिए भने भिमले १ सय २० मत प्राप्त गरेका थिए । निर्वचित कार्की स्थानीय चुनावमा कांग्रेसका उम्मेदवारसँग वडाध्यक्षमा ८ मतले पराजित भएका थिए । अध्यक्षका दुवैजना प्रतिस्पर्धी नेकपा समर्थक नै हुन् ।

त्यसैगरी उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष राधिका कार्कीलाई पराजित गर्दै उमेश गुरुङ बिजयी बनेका छन् ।  सचिवमा भने मनिसा सुवेदीलाई पराजित गर्दै निवर्तमान सचिव वालकुमारी बजगाइं नै बिजयी भएकी छिन् । त्यसैगरी सह सचिवमा अर्जुन सुवेदी बिजयी भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा पनि मेघराज गुरुङ बिजयी भएका छन् । निवर्तमान कोषाध्यक्ष अग्नि कार्कीलाई पराजित गर्दै उनी बिजयी भएका हुन् ।

सर्व सम्मत भए बाहेक दुई सदस्यका लागि भएको चुनावमा चारजना मध्ये निलकण्ठ थापा र रुद्र काफ्ले बिजयी भएका छन् ।

१३ सदस्यीय कार्यसमिति मध्ये ६ जना महिला सदस्यहरु यसअघि नै सर्वसम्मत भएका थिए । सर्वसम्मत निर्वाचित हुनेहरूमा अन्जना कट्टेल, सम्झना अधिकारी, मन्जु लामिछाने, रेखा बस्नेत, अनु मगर र दिपा बास्तोला छन् । त्यसैगरी निवर्तमान लेखा समितिका तिनैजना  यसअधि नै सर्वसम्मत निर्वाचित भइ सकेका छन् ।

नयाँ समितिको निर्वाचनका लागि वनको १५ औं साधारण सभाले यज्ञ प्रसाद सुवेदीको अध्यक्षतामा गठित ९ सदस्यीय  निर्वाचन समिति गठन गरेको थियो । कुल २ सय ५० हेक्टर क्षेत्रफल भएको सिंहदेवी सामुदायिक वनमा ३ सय ६२ घर उपभोक्ता छन् ।