केराबारीस्थित मच्छिन्द्र माविको ६२ औं बार्षिकोत्सव सम्पन्न, ३० जनाले गरे रक्तदान

  • १६ बैशाख २०७६, सोमबार

मोरङको केराबारी गाउँपालिका ८ स्थित मच्छिन्द्र माध्यमिक विद्यालयको ६२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

विद्यालयको आफ्नै प्राङ्गणमा सोमबार औपचारिक कार्यक्रम गरी बार्षिकोत्सब मनाइएको हो । विद्यालय ब्यबस्थापन समिति अध्यक्ष रोहितकुमार कटुवालको सभापतित्वमा भएको कार्यक्रममा केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की प्रमुख अतिथि थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी तथा विभिन्न पार्टीका प्रतिनिधिहरुको उपस्थिति थियो ।  

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक झलक पौडेलले आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा आब २०७५/ ०७६ को चैत मसान्तसम्ममा १ करोड ४६ लाख ६० हजार १ सय ६८ रुपैयाँ ६० पैसा बैंक मौज्दात रहेको उल्लेख गरिएको छ । विद्यार्थीहरुद्वारा विभिन्न गीत र नृत्य समेत प्रस्तुत गरेको कार्यक्रममा विद्यालयमा सबैभन्दा बढी अंक ल्याउने प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरुलाइ पुरस्कृत गरिएको थियो । बार्षिकोत्सबमा बिज्ञान बिषय अध्ययनरत विद्यार्थीहरुले तयार गरेका बिज्ञान सामग्रीहरुको पनि प्रदर्शन गरिएको थियो ।

बार्षिकोत्सब कार्यक्रमकै अबसरमा विद्यालयले रक्तदान समेत आयोजना गरिएको थियो । जसमा ३० जनाले रक्तदान गरेको विद्यालयले जानकारी दिएको छ ।

विद्यालयमा १४ स्थायी, १० जना अस्थायी/करार,  ९ राहत/ अनुदान, एकजना निजि श्रोतका गरी ३३ जना शिक्षक छन् । त्यसैगरी ३ जना सहायक कर्मचारी तथा विद्यालय सहयोगी कर्मचारी  छन् । विद्यालयमा बिज्ञानको प्राविधिक बिषय समेत पठनपाठन हुँदै आएको छ । विद्यालयमा बाल कक्षादेखि कक्षा १० सम्म ६ सय ४६ जना, कक्षा ११ र १२ मा साधारण तर्फ २ सय ८ जना र कक्षा ९ देखि १२ सम्म ९० जना गरी कूल ९ सय ४४ जना विद्यार्थी छन् ।