पत्रकार महासंघको छुट्टै शाखा खोल्ने भए उत्तरी मोरङका पत्रकारहरुले
- २० बैशाख २०७६, शुक्रबार
विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन भेला भएका उत्तर पुर्वी मोरङका पत्रकारहरुले ‘सरप्राइज’ निर्णय गर्दै उत्तरी मोरङ सहित बिराटनगर बाहिरका पत्रकारहरुलाइ समेटेर पत्रकार महासंघको उत्तर पुर्वी मोरङ शाखा खोल्ने निर्णय गरेका छन् ।
शुक्रबार बेलबारी, पथरी, उर्लाबारी, कानेपोखरी, विराटचौक, लेटाङ र केराबारी लगायतका स्थानबाट बिश्व प्रेस स्वतन्त्रता दिवस मनाउन मोरङको बेलबारीमा भेला भएका पत्रकारहरुले महासंघको छुट्टै शाखा खोल्ने निर्णय गरेका हुन् ।
प्रेस स्वतन्त्रता दिवसको अबसरमा बेलबारी नगरपालिकाबाट सुरुभएको प्रभात फेरी पश्चिम बस स्टेण्डसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रभातफेरी सकिएपछि भएको कोणसभा कार्यक्रममा बोल्ने बक्ताहरुले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरी सरकारबाट हुने गरेका व्यवहारहरुको निन्दा गर्दै त्यस्ता कुरा लोकतान्त्रिक मान्यता विपरित रहेको बताए । कानुनी रुपमा कतिपय प्राबधान प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खालका प्रावधान रहेकाले सच्याउन समेत उनीहरुले माग गरे ।
पत्रकार महासंघ मोरङ शाखा विराटनगर केन्द्रित भएकोमा विरोध, नयाँ शाखाको तयारी शुरु
प्रभातफेरीपछि गरिएको भेलामा पत्रकार महासंघ मोरङको विराटनगर केन्द्रित गतिविधि र विराटनगर वाहिरका पत्रकारप्रति गरिने भेदभावपुुुर्ण व्यवहारप्रति चर्को आलोचना भएको छ ।
प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेतले महासंघ मोरङले विराटनगरमा रहने पत्रकारलाई मात्रै केन्द्रित गरेर पुरस्कार तथा सम्मान, तालिम, फेलोसिप लगायतका सुबिधा दिने गरिएको बताए । समानताका आधारमा जिल्लाभरका पत्रकारलाई व्यवहार गर्नुपर्नेमा त्यसो नभएकाले अब विरानगर वाहिरका पत्रकारहरुले संगठित भएर छुट्टै शाखा खोल्नुपर्ने अबस्था आएको उनको भनाई थियो ।
पत्रकार महासंघ मोरङका पुर्व सहसचिव केदार चौहान, संघीय प्रेस फोरम प्रदेश १ का संयोजक फिपराज बेघा र पत्रकार भक्तसेर लिम्बु र भुपेन्द्र तिम्सिनाले पनि विराटनगरभन्दा वाहिर रहेर पत्रकारिता गर्नेहरुको हित र सुविधाका लागि छुट्टै शाखा आवश्यक रहेको बताएका थिए । पत्रकार महासंघ मोरङ का सदस्य सरोज बस्नेतको संयोजनमा भएको कार्यक्रमको संचालन अम्बिका भण्डारीले गरेका थिए ।
यसैविच प्रभातफेरि र कोणसभा कार्यक्रमपाछि भएको पत्रकारहरुको बृहत् भेलाले पत्रकार महासंघको उत्तर पुर्वी मोरङ शाखा स्थापनाका लागि तयारी सुरु गर्ने निर्णय समेत गरेको छ । तीन दर्जनभन्दा बढी पत्रकारहरुको उपस्थितिमा भएको भेलाले अर्को भेलाबाट नयाँ शाखाको नामाकरण, तदर्थ समिति गठन , कार्यालय रहने स्थान लगायतबारे टुंगो लगाउने समेत निर्णय गरेको नेपाल पत्रकार महासंघ मोरङका पुर्व सह सचिव मोहन भट्टराईले जानकारी दिए ।
स्मरण रहोस् यस क्षेत्रमा कार्यरत पत्रकारहरुले छुट्टै शाखाका लागि पत्रकार महासंघ १ नम्बर प्रदेश समितिमा निवेदन दिइसकेका छन् । महासंघको बिधान अनुसार छुट्टै शाखा खोल्न कम्तीमा ३५ जना सदस्य हुनु पर्दछ । उत्तरी र पुर्वी मोरङमा पत्रकार महासंघमा आबद्ध पाँच दर्जनभन्दा बढी पत्रकार छन् ।