पत्रकार महासंघको छुट्टै शाखा खोल्ने भए उत्तरी मोरङका पत्रकारहरुले

  • २० बैशाख २०७६, शुक्रबार

शुक्रबार बेलबारी, पथरी, उर्लाबारी, कानेपोखरी, विराटचौक, लेटाङ र केराबारी लगायतका  स्थानबाट बिश्व प्रेस स्वतन्त्रता दिवस मनाउन मोरङको बेलबारीमा भेला भएका पत्रकारहरुले महासंघको छुट्टै शाखा खोल्ने निर्णय गरेका हुन् ।

प्रेस स्वतन्त्रता दिवसको अबसरमा बेलबारी नगरपालिकाबाट सुरुभएको प्रभात फेरी पश्चिम बस स्टेण्डसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रभातफेरी सकिएपछि भएको कोणसभा कार्यक्रममा बोल्ने बक्ताहरुले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरी सरकारबाट हुने गरेका व्यवहारहरुको निन्दा गर्दै त्यस्ता कुरा लोकतान्त्रिक मान्यता विपरित रहेको बताए । कानुनी रुपमा कतिपय प्राबधान  प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खालका प्रावधान रहेकाले सच्याउन समेत उनीहरुले माग गरे ।
पत्रकार महासंघ मोरङ शाखा विराटनगर केन्द्रित भएकोमा  विरोध, नयाँ शाखाको तयारी शुरु 
प्रभातफेरीपछि गरिएको भेलामा पत्रकार महासंघ मोरङको विराटनगर केन्द्रित गतिविधि र विराटनगर वाहिरका पत्रकारप्रति गरिने भेदभावपुुुर्ण व्यवहारप्रति चर्को आलोचना भएको छ ।

प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेतले महासंघ मोरङले विराटनगरमा रहने पत्रकारलाई मात्रै केन्द्रित गरेर पुरस्कार तथा सम्मान, तालिम, फेलोसिप लगायतका सुबिधा दिने गरिएको बताए ।  समानताका आधारमा जिल्लाभरका पत्रकारलाई व्यवहार गर्नुपर्नेमा त्यसो नभएकाले अब विरानगर वाहिरका पत्रकारहरुले संगठित भएर छुट्टै शाखा खोल्नुपर्ने अबस्था आएको उनको भनाई थियो ।

पत्रकार महासंघ मोरङका पुर्व सहसचिव केदार चौहान, संघीय प्रेस फोरम प्रदेश १ का संयोजक फिपराज बेघा र पत्रकार भक्तसेर लिम्बु र भुपेन्द्र तिम्सिनाले पनि विराटनगरभन्दा वाहिर रहेर पत्रकारिता गर्नेहरुको हित र सुविधाका लागि छुट्टै शाखा आवश्यक रहेको बताएका थिए  । पत्रकार महासंघ मोरङ का सदस्य सरोज बस्नेतको संयोजनमा भएको कार्यक्रमको संचालन अम्बिका भण्डारीले गरेका थिए ।

यसैविच प्रभातफेरि र कोणसभा कार्यक्रमपाछि भएको पत्रकारहरुको बृहत् भेलाले पत्रकार महासंघको उत्तर पुर्वी मोरङ शाखा स्थापनाका लागि तयारी सुरु गर्ने निर्णय समेत गरेको छ । तीन दर्जनभन्दा बढी पत्रकारहरुको उपस्थितिमा भएको भेलाले अर्को भेलाबाट नयाँ शाखाको नामाकरण, तदर्थ समिति गठन , कार्यालय रहने स्थान लगायतबारे टुंगो लगाउने समेत निर्णय गरेको नेपाल पत्रकार महासंघ मोरङका पुर्व सह सचिव मोहन भट्टराईले जानकारी दिए ।

स्मरण रहोस् यस क्षेत्रमा कार्यरत पत्रकारहरुले  छुट्टै शाखाका लागि पत्रकार महासंघ १ नम्बर प्रदेश समितिमा निवेदन दिइसकेका छन् । महासंघको बिधान अनुसार छुट्टै शाखा खोल्न कम्तीमा ३५ जना सदस्य हुनु पर्दछ । उत्तरी र पुर्वी मोरङमा पत्रकार महासंघमा आबद्ध पाँच दर्जनभन्दा बढी पत्रकार छन् ।