पाँच बर्षमा बल्ल बन्यो दुई बर्षमा तयार हुनुपर्ने मालपोत कार्यालय बेलबारीको भवन
- १३ जेष्ठ २०७६, सोमबार
दुई वर्षभित्र नै बनाइसकेर जिम्मा लगाउनुपर्ने मालपोत कार्यालय बेलबारीको भवन ४ वर्षपछि बल्ल तयार भएको छ ।
कूल ४ करोड ९८ लाख ८१ हजार ५ सय ४९ रुपैयाँ ६९ पैसामा एके एन्ड गान्वा कन्स्ट्रक्सन प्रालि शान्तिनगर काठमाडौंले भवन निर्माण गर्ने ठेक्का पाएको थियो । सम्झौता अनुसार मालपोत कार्यालय बेलबारीको भवन २०७३ जेठ १८ गते हस्तान्तरण गर्नुपर्ने थियो । नाकाबन्दी तथा भूकम्प लगायतका विभिन्न कारण देखाउँदै भवन निर्माणको म्याद दुई पटक थप गरिएको थियो । २०७१ जेठ १९ गते सम्झौता भएपछि निर्माण थालिएको भवन करिब ५ बर्षपछि २०७६ मा बल्ल बनिसकेको छ ।
२ पटक म्याद थपेपछि चैतसम्ममा भवन हस्तान्तरण गर्ने सहमति भए अनुसार निर्माणकार्य सकिए पनि रंगरोगन लगायतका कारण हस्तान्तरणमा ढिलाइ भएको ठेकेदार श्रेष्ठले बताए ।
नयाँ भवनको बिवरण बुझ्न खोज्दा मालपोत कार्यालय बेलबारीका प्रमुख योगेन्द्र दुलालले सबै कुरा ठेकेदारबाट नै बुझ्न आग्रह गरे । तर ठेकेदार विनोदकुमार श्रेष्ठलाई मालपोत कार्यालयको निर्माणाधीन साढे ३ तले भवन जम्मा कति कोठे हो भन्ने थाहा रहेनछ । त्यसैले भवनमा जम्मा कतिवटा कोठा छन् भन्ने प्रश्नमा ठेकेदार बिनोद श्रेष्ठ अक्मकिए र अनुमान लगाउँदै भने ‘जम्मा तीस कोठा जति छन् ।’ उनले बेलबारीमा बनेको मालपोत कार्यालय पुर्वकै ठुलो भएको दाबी गरे । उनले रङरोगन गर्ने काम समेत सकिएकोले यसै महिना भवन हस्तान्तरण गर्ने जनाए ।
भवन निर्माणमा ढिलाइ हुँदा साँघुरो कोठामा काम गर्नुपर्दा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको मालपोत कार्यालय बेलबारीका प्रमुख योगेन्द्र दुलालले बताए । छिटो काम गर्न ठेकेदारले विभिन्न कारण देखाउँदै काममा ढिलाइ गरेको दुलालले बताए । – अम्बिका भण्डारी