एक महिनामा तेस्रोपटक माफी माग्दै इटहरीका मेयरले गरे ‘ह्याट्रीक’

  • ७ असार २०७६, शनिबार

इटहरीका मेयर द्वारिकलाल चौधरीले एक महिनाको अबधिमा तेस्रोपटक माफी मागेका छन् ।
यस अघि पत्रकार दुर्ब्यबहार र धम्कीको बिषयमा माफी मागेका उनले यस पटक महिलाहरुसँग माफी मागेका हुन् ।  इटहरीमै आयोजित एक कार्यक्रममा उनले महिलाको बिषयमा आपत्तिजनक अभिव्यक्ति  दिएका थिए ।

आफ्नो अभिव्यक्तिप्रति दुःख ब्यक्त गर्दै उनले विज्ञप्ति निकालेर क्षमायाचना गरेका छन् । कार्यक्रममा आफूले बोलेका केही शब्दहरुले तमाम नेपाली आमा दिदीबहिनीको भावनामा चोट परेकोमा दुःख ब्यक्त गर्दै क्षमायाचना गरेको चौधरीले जनाएका छन्।

उनले इटहरीको समृद्धि र विकास महिला दिदीबहिनीको सहयोगबिना सम्भव नभएको भन्दै इटहरीको विकास र समृद्धिमा महिला दिदीबहिनीको महत्वपूर्ण साथ सहयोगका लागि आह्वान गरेका छन् ।

विज्ञप्तिमा इटहरी उपमहानगरपालिका इटहरीका बेथिति, कुरीति र भ्रष्टाचारविरुद्ध लडिरहेको जनाएका छन् । इटहरीमा मौलाउँदो यौनधन्दालाई नरोकी समुन्‍नत इटहरी निर्माणको परिकल्पना अधुरो रहने पनि उनले जिकिर गरेका छन्।