पुर्व सांसदसहित नेकपाका नेताले बेचे सहारा वालग्रामको डेढ बिघा, झण्डै एक बर्षपछि भो खुलासा

  • ९ भाद्र २०७६, सोमबार

मोरङको बेलबारी २ लालभित्तिमा रहेको साहारा परिवार नेपाल (सहारा बालग्राम ) को झण्डै डेढ बिघा जग्गा पुर्व सांसद, पुर्ब गाबिस अध्यक्षसहित नेकपा मोरङका जिल्लास्तरीय नेता सम्मको मिलेमतोमा आधाभन्दा सस्तो अर्थात ३ करोड मुल्यमा गुपचुपमै बिक्री भएको रहस्य सार्बजनिक भएको छ ।

नेकपा एमालेको पुर्ब सांसद हर्कमान तामाङ, बेलबारी गाबिसका पुर्ब अध्यक्ष शिवप्रसाद बराल लगायत नेकपाका आधा दर्जन बढी नेताको मिलेमोतोमा सो जग्गा ईटहरीका डम्बरबहादुर तामाङको नाममा पास भएको  नेकपा संयन्त्र वडा कमिटि बेलबारी २ ले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

बालग्रामको नाममा रहेको मध्ये एक कठ्ठाभन्दा कम मात्र बाँकी राखेर जम्मा १ विगाहा ८ कट्ठा ३ धुर जग्गा ब्यत्तिको नाममा गईसकेको छ ।
बि.स २०५६ हर्कमान तामाङ सांसद भएको  बेला भुमीहिनहरुलाई घर सहितको बासको व्यवस्था र असहाय वालवालिकालाई आश्रमको सेवा प्रदान गर्ने उद्देश्यले सहारा स्थापना भएको थियो । तर सञ्चालकहरुकै स्वार्थको सिकार हुँदा अहिले अस्तित्व नै मेटिएको भन्दै जग्गा साहाराकै नाममा फिर्ता हुनुपर्ने माग सहित नेकपा आन्दोलनमा उत्रिएको छ ।

पत्रकार सम्मेलनमा उनीहरुले बिक्री गर्ने नेताहरुको नाम नै लिएर ब्यक्तिगत  स्वार्थका लागि पार्टीको झण्डामुनि बसेर गलत काम गर्नेलाई पार्टीबाट निष्कासन सहित कडा भन्दा कडा कारबाहीको माग गरिएको छ ।
संयन्त्रको सोमबार बिहान बसेको बैठकले जग्गा फिर्ताको पहल गर्ने देखि सो कार्यमा संलग्नहरुलाई पार्टीबाट समेत निष्कासन गरी कडाभन्दा कडा कारबाहीको माग गर्ने निर्णय समेत गरेको छ ।

बैठकपछिको पत्रकार सम्मेलनमा वडा संयोजक सीताराम न्यौपाने, उपसंयोजक रञ्जित गुरुङ, वडाध्यक्ष घनश्याम गौतम,सदस्य खिनामाया बस्नेत लगायत सयौँको संख्यामा उपस्थित स्थानीय र साहारामा आश्रित परिवारले सो कार्यको बिरोध गरेका छन् । वडाध्यक्ष गौतमले साहाराको जग्गा जसरी पनि फिर्ता गराउने भन्दै आश्रित परिवारलाई त्यहांँ छोडेर अन्यत्र नजान् आग्रह गरे । उनले पार्टीको झण्डामुनि बसेर यस्तो क्रियाकलाप गर्ने जो कोही भएपनि नछोड्ने बताए ।

संयोजक न्यौपानेले पार्टीको बदनाम गरेर संस्थाको जग्गा बेच्नेलाई जसरी पनि कारबाही गरेरै छोडने बताए । त्यसका लागी जस्तोसुकै आन्दोलन गर्नु परेपनि आफु तयार रहेको उनले बताए । सहारामा आश्रित परिवारका सदस्यहरुले हर्कमान तामाङ र शिव बरालसहित नेकपाका नेता प्रताप थापा, लक्ष्मण थापा लगायतले आफुलाई सहारा छोडन धम्की दिने गरेको पीडितले बताएका छन ।

जग्गा बिक्री भएको स्वीकार 
यस बिषयका तत्कालिन बेलबारी गाविसका अध्यक्ष तथा सहाराका वर्तमान अध्यक्ष शिवप्रसाद बरालले जग्गा बिक्री भएको स्वीकार गरेका छन । उनले आयआर्जनको काम गर्ने उद्धेश्यका साथ बिक्री भएको र त्यंँहा आश्रित परिवारका लागी रोजगारीको ब्यबस्था गरिने बताए ।

सहारालाई अब चलायमान गराउन र उद्यम तथा रोजगारमुलक काम गर्ने योजना रहेको बारे सार्वजनिक गरिएको र त्यसै अनुसार सबै कामहरु भैरहेको दाबी गरे । उनले गार्मेन्ट तथा कृषि क्षेत्रमा लगानी गर्ने उद्देश्यले ऋणको प्रकृया अघि बढाइएको भएपनि निस्क्रिय संस्थामा लगानी नपाइएकोले सम्झौता र सहमतिका आधारमा व्यक्तिको नाममा जग्गा लगिएको जिकिर गरे ।

सो बालग्रामको जग्गामा हाल २८ परिवार बसोबास गरिरहेका छन । उनीहरुलाई पहिले बोलाएर बसाइएको भएपनि पुर्व सांसद तामाङ, अध्यक्ष बराल तथा नेता प्रताप थापा सहित केही नेताहरुले बालग्राम छोडन धम्की दिएको उनीहरुले गुनासो गरेका छन् । थापाले सो आरोप अस्वीकार गरेका छन् ।

संस्था स्थापना हुनुपुर्व सो जग्गा खरिद गर्दा हर्कमान तामाङले केही रकम लगानी गरेको बताएपनि नेकपाका स्थानीय नेताहरूको कुनै प्रकारको लगानी नरहेको स्थानीयबासी बताउँछन् । वालग्राममा भएका कम्प्युटर, ब्लाङ्केट, झ्याल ढोकादेखि कार्पेटसम्म तामाङले घर लगी सम्पत्ति दुरुपयोग गरेको उनीहरू बताउँछन् । सहाराको गाडी समेत कता गयो कसैलाई पत्तो छैन ।

नेकपा वडा नम्बर २ का संयोजक सीताराम न्यौपानेले तामाङको तत्कालिन समयमा लगानी गर्ने हैसियत नभएको तर लगानी भएको भन्दै त्यंँहाका सबै सामान लगेको बताए । बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतमले वालगृह संचालन भएका बेला ६०/७० जना वालवालिका हुँदा सयभन्दा बढी वालवालिका देखाएर किर्ते गरी दाताबाट लिएको रकम खाने गरेको आरोप लगाए ।

सहारालाई तत्कालिन समयमा चलनचल्तीभन्दा सस्तो मुल्यमा जग्गा दिएका दाताहरु संस्थाको लागि दिएको जग्गा ब्यक्तिले बेचेर खाएको सुन्दा निराश भएको  बताउँछन् ।

कस्तो संस्था हो साहारा ?
असहाय वालवालिकालाई आश्रमको सेवा प्रदान गर्ने र भुमीहिनहरुलाई घर सहितको बासको व्यवस्था गर्ने उद्देश्यले स्थापित सहारा स्थापना गरिएको थियो । भवन तथा संरचना निर्माण लगायतमा विदेशी दाताले लगानी गरेका थिए ।
साहारा परिवार नेपाल २०५६ सालमा जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भएको  थियो । जसको दर्ता नम्बर ८७५ हो  ।

संस्था अमेरिकाका ड्यानी अति एलिसा हाफ्रिज र डाक्टर बाल्ट ज्यामी हार्बर टेनिशीको संयुक्त लगानीमा  सञ्चालनमा आएको थियो । निर्माण मात्र नभएर सञ्चालनका लागि समेत केही वर्षसम्म विदेशी लगानी आएको थियो ।

सहारा तुरुन्त छाड्न दबाब 

सहारा परिसरमा बनेका घरहरुमा अहिले २८ परिवार बस्दै आएका छन् । सहारामा आश्रय लिएर बसेका २८ परिवार त्यहाँबाट विस्थापित हुने त्रासमा बसेका छन् । केही दिन अघिमात्रै सहाराका अध्यक्ष बराल, पुर्वअध्यक्ष तामाङ लगायतले सहारामा आश्रित सबै परिवारलाई  बोलाएर छलफल गराएका थिए । सो क्रममा बराल, तामाङ सहित प्रताप थापा र लक्ष्मण थापा समेत आएर सहाराको क्षेत्र छाड्नुपर्छ नत्र जबर्जस्ती निकाल्ने धम्की दिएको सहाराको जग्गामा आश्रित राधिकाले बताइन्  । प्रताप थापाले भने आफुले त्यस्तो नगरेको दाबी गरेका छन् । १२ परिवार २०५६ सालदेखि बस्दै आएका थिए भने   अरुलाइ पछि बोलाएर ल्याइ बसाइएको थियो । ति परिवार अहिले विभिन्न वहानामा आफूहरुलाई विस्थापित गर्न लागेको भन्दै आक्रोसित समेत बनेका छन् ।

संस्थाको जग्गा कसरी गयो ब्यक्तिको नाममा ?
संस्थाको जग्गा ब्यक्ततिकाा नाममा भन्ने हल्ला अहिले माात्रै होइन , एक दुुई बर्ष अगाडिदेखि चलेको थियो । झण्डै एक बर्षअघि तत्कालीन नेकपा एमाले वडा कमिटीमा छलफल समेत गरेको थियो । छलफलपछि पार्टीले सहाराको संचालक समितिमा रहेकाहरुलाइ बोलाएर स्पष्टीकरण सोधेको थियो । उनीहरूले हल्ला निराधार र झुठो भएको बताएका थिए ।

बेचिएको थाहा भएपछि सहारा रहेको बेलबारी २ वडा कार्यलयमा जग्गा सम्बन्धि कुनै बिवरण भेटिएन । मालपोत कार्यलय बेलबारीको रेकर्डमा भएको साविक हरैँचा ५ ख हाल बेलबारी २ का कित्तानम्बर १०७८ को ५ कट्ठा, कित्तानम्बर ७८५ को ७ कट्ठा, कित्तानम्बर १०८३ को ३ कट्ठा, कित्तानम्बर १०८१ को ४ कट्ठा, कित्तानम्बर १०९० को ५ कट्ठा, कित्तानम्बर ८१९ को ४ कट्ठा ३ धुृर क्षेत्रफलका जग्गा इटहरीका तामाङको नाममा गएको देखियो । सहाराको नाममा रहेको जग्गा अदालती प्रकृया पुरा गर्दैै व्यक्तिको नाममा गएको देखिएको छ ।

मालपोतमा भएको अभिलेखमा ‘मिसिल नम्बर ८५ मिति २०७५।०८।११ को दाखिल खारेजको निर्णयले मोरङ जिल्ला अदालतको चलानी नम्बर ४५६० मिति २०७५।६।१४ को मिलापत्र अनुसार (उल्लेखित कित्ता नम्बरका जग्गाहरु) ठेली नम्बर ३०।४।८३ को सहारा परिवारको नामबाट डम्बर बहादुर तामाङको नाममा आएको छ ।’ भनिएको छ । हाल सहारा परिवारको नाममा साविक हरैँचा ५ ख हाल बेलबारी २ को कित्ता नम्बर १०९४ को १० धुर र कित्तानम्बर १०९६ को ७ धुर जग्गा मात्रै रहेको रेकर्ड भेटिएको छ ।

नेकपा बेलबारीले मंगलबार पार्टीको धारणा सार्वजनिक गर्ने 

सहारा वालग्रामको जग्गा बिक्री काण्डबारे नेपाल कम्युनिस्ट पार्टी नगर संयन्त्र बेलबारीले मंगलबार धारणा सार्वजनिक गर्ने भएको छ । नेकपा बेलबारीका नेता मिलन राइले यसबारे पार्टीको धारणा आउने र यसमा संलग्न जोसुकै भएपनि पार्टीले कारबाही गर्ने बताए ।

स्मरणीय के छ भने पुर्व सांसद तामाङ र बराल दुवै हाल बेलबारी नगरपालिकाका सल्लाहकार समेत छन् ।

साहाराको जग्गा बिक्री भएकोबारे कांग्रेसको आपत्ति
बेलबारी २ लालभित्तिमा रहेको साहारा परिवारको जग्गा ब्यत्तिको नाममा बिक्री भएपछि नेपाली कांग्रेस बेलबारीले बिरोध जनाएको छ ।
पुर्व सांसद हर्कमान तामाङदेखि पुर्ब गाबिस अध्यक्ष शिवप्रसाद बराल लगायत अन्य नेकपाका नेताहरुको समेत मिलेमोतोमा जग्गा बिक्री भएको भन्दै नेपाली काँग्रेसका नगर सभापति शम्भु भटराईद्धारा हस्ताक्षरित बिज्ञप्तीमा सो जग्गा संस्थाकै नाममा फिर्ता हुनुपर्ने र सोही ठाँउमा आश्रय लिएर बसेकाहरुलाई त्यहि बस्न दिनुपर्ने र बिक्रीमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।