बेलबारी गोल्डकप : एपीएफलाई हराउँदै सिलगुडी बिजयी, उपाधिका लागि धरानसँग भिड्ने

  • ९ आश्विन २०७६, बिहीबार

मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भारतको रोयल फुटबल क्लब र धरान फुटबल क्लब भिड्ने भएका छन् ।
बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–० गोल अन्तरले स्तब्ध बनाउँदै भारतले उपाधि भिडन्तका लागि धरानसँगको भेट पक्का गरेको हो ।

नेपाली खेलाडीले भरिएको भारतीय टिमको सजत जितमा निशान्त लिम्बूले दुई र सञ्जय सुब्बाले एक गोल गरे । अत्यन्तै कमजोर प्रदर्शन गरेको एपीएफलाई रोक्न भारतले तीनवटै गोल मध्यान्तरपछि गरेको हो ।

मध्यान्तर अघिसम्म रोके पनि एपीएफले लय गुमाउँदा मध्यान्तरपछि भारत हावी बन्यो । भारत अर्को विभागीय टोली नेपाल पुलिस क्बललाई पराजित गरेर सेमिफाइनल पुगेको थियो ।

सेमिफाइनल यात्रा तय गर्ने क्रममा एपीएफले झापा–११ लाई क्वार्टर फाइनलमा पराजित गरेको थियो । सेमिफाइनलमा भने खेलाडीबीच तालमेल मिलाउन नसकेको उसको प्रदर्शन खेल अवधि भरनै कमजोर रहयो । राजन गुरुङले चित्तबुझ्दो प्रदर्शन गरे पनि राष्ट्रिय टिमका राजेन्द्र रावल जम्न नसक्नु एपीएफका दुर्भाग्यपूर्ण बन्यो ।
भारतका निशान्त लिम्बू, सुरज रसाईली, श्याम सरकार, कप्तान आदर्शन तामाङको प्रदर्शन उत्कृष्ट रहयो । एपीएफमाथि सनसनीपूर्ण जित निकाल्ने क्रममा ५१ औं मिनेटमा निशान्त लिम्बूले गोलको खाता खोलेर भारतलाई अगाडि बढाउँदा एपीएफ दबाबमा परेको थियो । कैलाश बस्नेतको पासमा निशान्तले प्रहार गरेको ग्रास बलले पोस्टको बाटो तय गर्दा गोलरक्षक राजु नगरकोटीले कुनै मौका पाएनन् ।
६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै निशान्तले अग्रता दोब्बर बनाएपछि एपीएफ थप तनावमा प¥यो । डी–बक्स भन्दा बाहिरबाट उनले गरेको सशक्त प्रहारले पोस्टको दिशा लिएको थियो । एपीएफमाथि रवाफ देखाएको भारतका लागि ७६ औं मिनेटमा तेस्रो गोल सम्भव भयो । सुरज रसाईलीको पासमा सञ्जय सुब्बाले बललाई जाली चुमाउँदै एपीएफमाथि फराकिलो अन्तरको जित दिलाए ।

खेलको म्यान अफ दी म्याच भारतका निशान्त लिम्बूले पाँच हजार नगद पुरस्कार पाए । प्रतियोगिताको फाइनल खेलमा आगामी शनिबार हुनेछ । आयोजकका समितिका संयोजक एवं डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईकाअनुसार फाइनल शुक्रबार हुने घोषणा गरिए पनि प्राविधिक कारण शनिबारका लागि सार्नु परेको हो